धादिङमा पिसिआर परीक्षण हुने

278

धादिङ । कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै आरटी पिसिआर परीक्षण गर्न माग भएको बेला धादिङमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना लागे नलागेको परीक्षण गर्ने पिसिआर मेसिन राखेर धादिङबेंसीमा स्वाब परीक्षण गर्ने नीतिगत निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताए ।

सांसद खेम लोहनी, भूमि त्रिपाठी र जिल्ला समन्वय समितिका प्रमुख नेपालको पहलमा पिसिआर मेसिन जिल्लामा ल्याउन लागिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको केन्द्रीय कोरोना कोषको बैठकले रु एक करोडको लागतमा पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।

जिल्ला समन्वय समितिले मेसिन खरिदसँगै परीक्षणस्थल समेत तय गरी जिल्लामा कोरोना परीक्षण गर्ने व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । ठूलो ल्याब र यसका लागि जनशक्ति समेत व्यवस्थापन गरी दुई महिनाभित्र परीक्षण गर्ने सकिने योजना रहेको बताइएको छ ।

अर्थ मन्त्रालयले स्वीकृति दिएसँगै जिल्लामै पिसिआर परीक्षण हुने भएपछि जिल्लावासी खुसी भएका छन् । केही समयदेखि धादिङमा संक्रमितको सङ्ख्या थपिइरहेको र कोरोनाको लक्षण देखिएका बिरामीहरु समेत धेरै रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...