आज थप २,७३६ जनालाई संक्रमण : ८५३ जना कोरोनामुक्त भइ घर फर्किए

150

काठमाडौं । पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६ सय ७७ पुरुषमा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितसँगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७ सय ६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९ सय ४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८ सय १५ जना पुरुष रहेका छन् ।

मंगलबार देखिएकामा प्रदेश नम्बर १ का २ सय ५३ जना, प्रदेश नम्बर २ का ९८ जना, बागमति प्रदेशका एक हजार ७ सय ८८ जना, गण्डकी प्रदेशका २ सय ९ जना, लुम्विनी प्रदेशका २ सय ७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय संक्रमित ३८ हजार ३५ जना रहेका छन् ।

निको हुने दर ८० प्रतिशत
मंगलबारको सो विवरणमा आठ सय ५३ जना आज संक्रमणबाट निको भइ घर फर्किसकेका छन् । अहिलेसम्म एक लाख ६० हजार ५ सय ७७ जना निको भइ घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा मंगलबार एक हजार ४ सय २० जनामा संक्रमण देखिएको छ । तीमध्ये ६ सय ३ जना महिला र ८ सय १७ जना पुरुष रहेका छन ।

२२ जनाको निधन
यस्तै मंगलबार २२ जनाको संक्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १ सय ४८ जनाको संक्रमणबाट निधन भइसकेका छन । मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी संक्रमितमध्ये ४ सय ४ जना सघन उपचार कक्ष (आइसियू) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तीमध्ये आइसियूमा प्रदेश नम्बर १ का ४५ जना, प्रदेश नम्बर २ का १२ जना, बागमति प्रदेशका १ सय ८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ का १५ जना, प्रदेश नम्बर २ का दुई जना, बागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।

यस्तै पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् ।

शून्य संक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७ सय ३४ जना रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...