बलेवा । वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरु मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने हिमश्रृंखला र खोँचका बस्तीका सुन्दर दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । साविकका जिल्ला विकास समितिको पहुँच कम हुँदा प्रतिफल लिन सकिने जिल्लाका कयौँ टापुका नत प्रचार हुन्थ्यो नत प्रवर्द्धन नै । राज्यको पुनःसंरचना भएर गठन भएका स्थानीयतहले आफ्ना क्षेत्रका यस्ता टापुका पहिचान, प्रचार र प्रर्वद्धन थालेका छन् ।
बागलुङमा यस्ता टापुका प्रवद्र्धन मा युवा पुस्ताको सक्रियता पनि लोभलाग्दो छ । केही दिनअघि पत्रकार र पर्यटन प्रवर्द्धन मा सक्रिय ‘घुमन्ते समूह’मा आवद्ध युवा समूह जिल्लाको जैमिनी नगरपालिका–७ जैदी, ८ छिस्ती र १० राङखानीको सीमामा पर्ने हाँडीकोट पुग्यो । त्यहाँबाट देखिने हिमश्रृंखला र सूर्योदयको चर्चा सेलाएको छैन । घामको सुनौलो किरण हिमालमा पोखिँदाको दृश्यले युवालाई लालाहित बनायो । उनीहरु फर्किएपछि पस्किएका सामग्रीले हाँडीकोट पुग्ने इच्छा देखाएको बताउँछन् पत्रकार, सज्जनकुमार सिंह ।
पर्यटनको प्रबल सम्भावना भएर पनि हाँडीकोट ओझेलमा परेको उनको भनाइ छ । पर्यटकीय हाँडीकोटबाट सूर्योदय र सूर्यास्तसँगै मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भू–भाग देखिन्छन् । जडिबुटी, वन पैदावर, दुर्लभ चरा र वन्यजन्तुको बासस्थान हाँडिकोटको अर्को विशेषता हो । दुई हजार १ सय ९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले पछाडि परेको स्थानीय बताउँछन् । जैमिनीले पदमार्ग र सडक मार्गमार्फत हाँडीकोट जोड्ने प्रयास गरेको छ । हरेक वर्ष पदमार्गको लागि लगानी भैरहेको र बृहत योजना बनाएर हाँडीकोट विकासमा लागेको नगर उपप्रमुख लिला राना बताउँछिन् । “यो जैमिनीको आर्थिक समृद्धिको आधार पनि हो”, उनले भनिन् ।
बागलुङको बरेङ, गुल्मीको कालीगण्डकी र चन्द्रकोट गाँउपालिकाको सिमानामा पर्छ कौडेको धुरी । हाँडीकोट जस्तै कौडेको धुरी पनि सूर्योदय र हिमश्रृंखला देखिने दक्षिण बागलुङको अर्को टापु हो । केही दिनअघि त्यही टापुबाट पहिलोपटक बरेङ गाउँपालिका स्वास्थ्य संयोजक पदमबहादुर पुनले सूर्योदय देखे । दुई हजार १ सय मिटरको उचाईमा रहेको सिग्दी ‘होम स्टे’देखि करिब दुई घण्टाको पदयात्रापछि कौडेको धुरी पुगिन्छ । बिहान ६ बजेर १९ मिनेटमा कौडे पुगेका पुनलगायत युवाले पूर्वि छितिजमा उदाएको सूर्य र पश्चिम छितिजमा अस्ताउँदै गरेको चन्द्र एकैपटक देखे, जुन दृष्य निकै मनमोहक थियो ।
पछिल्लो समय कौडेमा पुग्न चाहनेको निकै ठूलो जमात छ । त्यहाँबाट पर्वत, स्याङजा, पोखरा, पाल्पा, बुटवल, अर्घाखाँचीसम्मका भू–भाग देखिन्छन् । कुनै बेला बाईसे÷चौबिसे राजाले त्यस क्षेत्रबाट शासन चलाएको इतिहासमा उल्लेख छ भने लडाइँ गर्दा आफूहरु सरक्षित रहने बङ्करहरु र आफ्ना सेनाहरु परेड खेल्ने ठाँउको अवशेष पनि रहेको छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि कौडेको धुरी धनी छ । दुर्लभ चराचुरुङ्गी र मृग, बँदेलजस्ता वन्यजन्तुको बासस्थान रहेको तथा २ हजार ६ सय ५० मिटरको उचाइमा अवस्थित कौडेको लेक पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको स्थानीय बताउँछन् । बरेङ गाउँपालिकाले कौडेको विकासका लागि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको छ ।
“विनियोजित रकमले पदमार्ग निर्माण गरिएको छ तर पर्याप्त भएन”, सिग्दी सामुदायीक घरबासका अध्यक्ष हिराबहादुर पुन भन्छन्, “यहाँ तत्कालै गर्नुपर्ने धेरै काम छन्, खानेपानी, शौचालय र खाजा खानेसम्म ठाउँ छैन, होमस्टेदेखि नै व्यवस्था मिलाउने गरेको छ ।” स्थानीय सरकारको लगानी र युवाको सक्रियताले पर्यटकीय टापुहरुको विस्तारै प्रचारप्रसार र पहिचान हुन थालेको कौडेको धुरी पुगेका प्रकाश छन्त्याल बताउँछन् । “अथाह सम्भावना छन्, तर बेवास्ता भैरहेको छ”, छन्त्याल भन्छन्, “कौडे र हाँडीकोटजस्ता धुरी बिदा मनाउनेका लागि उपयुक्त गन्तव्य हुन् ।” सरकारका तीनै तहले यस्ता पर्यटकीय क्षेत्रमा लगानी बढाउनुपर्ने घरबासका अध्यक्ष पुन बताउँछन् । रासस