मंसिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई

149

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मंसिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन् ।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने छ भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

विमानस्थल पुनः सञ्चालनमा ल्याइने
मन्त्री भट्टराईले मंसिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान सुरु गरिने बताए ।

संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गरे । प्रदेश नम्बर १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताए । उनले काठमाडौंबाट र काँगेलबाट र विराटनगर–काँगेल पनि उडानका लागि तयारी गर्न आग्रह गरे।

अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताए । नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नतिका लागि भएका पहल सकारात्म रहेको जनाए । गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थगल पुनःसञ्चालनका लागि स्थानीय सरकार साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।

विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा सुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।

महाकुलुङ तालको डिपिआर बन्न
काँगेलडाँडा विमानस्थलको स्थलगत अध्ययनपछि मन्त्री भट्टराईले महाकुलुङमा निर्माण हुन लागेको विमानस्थलको समेत निरीक्षण गरेका छन् । वातावरणीय प्रभाव मुल्यांकन पास भएको उक्त विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम पनि छिट्टै बन्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमा विमानस्थललाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विमानस्थल सञ्चालनपछि मेरापिक, मुन्दुम ट्रेल पदमार्गमा आउने पर्यटकलाई समेत सहज हुने मन्त्री भट्टराईको भनाइ छ । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले महाकुलुङ विमानस्थल त्यस क्षेत्रका नागरिकको समेत जीवनस्तरसँग जोडिएको हुनाले द्रुतगतिमा निर्माण कार्य अघि बढाउन आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...