रुकुमकोटमा खेती गर्न गोरुको अभाव

328

रुकुमपूर्व । रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैँसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पहिले गोठभरि देखिने गाई, गोरु, भैँसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ । पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरु हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।

प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच÷सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ । खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन् । सिस्ने गाउँपालिका—६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् । गोरुको रु एक हजार र हलीको रु एक हजार तिरेर उनले गहुँ लगाएका छन् ।

उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन् । सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उनको भनाइ छ । यस्तै सिस्ने गाउँपालिका—५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् । उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् । जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन् ।

Share This:
सम्बन्धित खबर
Loading...