वडाध्यक्षको रगतले बच्यो महिलाको ज्यान

239

डोटी । रक्ताल्पता भएर शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा भर्ना भएकी डोटीको केअइसिंह गाउँपालिका–४ की धौलीदेवी विष्टको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले दान गरेको रगतले ज्यान बचेको छ ।

विष्ट लामो समयदेखि रक्ताअल्पतासहित सेभर एनमिया भएकी उनी उपचारका लागि उक्त अस्पतालमा गएराति आएकी थिइन् । समयमै रगत नपाएको भए उनको ज्यान सम्म जाने सक्ने चिकित्सकले बताएका छन् ।

कम्तीमा पनि चार पिण्ट ओ पोजेटिभ रगत अभाबमा छट्पटिएकी विष्टलाई अस्पतालले रगतदानका लागि आग्रह गरेपछि वडाध्यक्ष खड्काले अस्पतालमै आएर बिहीबार रगत दान गरेका थिए । वडाध्यक्ष खड्काले रगत दान गरेपछि अहिले महिलाको स्वास्थ्यमा निकै सुधार भएको सो अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।

जिल्लामा रगत प्रदान गर्ने ब्लड बैङ्क नभएका कारण यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई रगत प्रदानका लागि निकै समस्या हुँदै आएको छ । जिल्ला अस्पताल नजिक नेपाल रेडक्रस सोसाइटी, डोटी शाखाले वर्षौँ पहिले ब्लड बैङ्क खोलेको भएपनि ब्लड राख्ने आवश्यक उपकरण नभएका कारण उक्त बैङ्क सञ्चालनमा आउन सकेको छैन ।

यहाँका बिरामी तथा अपरेसन गरेका व्यक्तिलाई ब्लड दिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको भर पर्नुपर्ने अवस्था रहँदै आएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी सर्वजीत देउवाले बताए ।

रगत दान गरे बिरामी परिनुका साथै कमजोर भइन्छ भन्ने यहाँका स्थानीयवासीमा परेको नकारात्मक सोचका कारण प्रायः रगत दान गर्न नमान्ने गरेको पनि पाइएको छ । वडाध्यक्ष खड्काले रगत नपाउँदा समस्यामा परेकी महिलालाई रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको बताए । उनले भने, “मानवीय धर्म निर्वाह गरेर अरुको ज्यान बचाउन आफूले रगत दिन पाएँ, निकै खुशी छु, मेरो रगतले कसैको ज्यान बच्यो ।”

Share This:
सम्बन्धित खबर
Loading...