सङ्खुवासभाका करिब दुई हजार घरधुरीको फुसको छानो हट्ने

225

खाँदबारी । सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९ सय ८० घरधुरीका फुसको छाना हट्ने भएको छ । शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।

सरकारले नागरिकका घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य गरिब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याएको सांसद गौतमले जानकारी दिए । सांसद गौतमले भने, “सङ्खुवासभाका १० वटै स्थानीय तहका फुसको छानो नहटेसम्म सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहने छ ।”

खाँदबारीका ३ सय ४०, चैनपुरका ३ सय ६०, धर्मदेवीका १ सय ८६, पाँचखपनका २ सय ४३ र मादीका १ सय ६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् । त्यसैगरी चिचिलाका १ सय २९, भोटखोलाका ६१, मकालुका १ सय ४४, सभापोखरीका १ सय ६३ र सिलिचोङका १ सय ७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने छ । सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्तापाता खरिद गरेको बिल भर्पाइ पेश गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताए ।

सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करिब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको छ । उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाएको छ । मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु कटिबद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताए । रासस

Share This:
सम्बन्धित खबर
Loading...