पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट राससकर्मी शर्मा सम्मानित

246

गण्डकी । राष्ट्रिय समाचार समिति (रासस)का पोखरा समाचारदाता जमुनावर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएकी छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको १६औं अधिवेशन एवं सत्ताइसौँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले रु १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरिएको हो ।

पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोना संक्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवर्द्धनमा लागेको बताए ।

कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे । कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको रु एक अर्बको कोष चाँडै नै व्यवसायीका हातमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना संक्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए । कोरोनाले विभिन्न क्षेत्र धराशयी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।

टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए । टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै सङ्कटमा परेको बताए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटा लगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे । अधिवेशन तथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि रु ५० हजार उपलब्ध गराइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...