प्रदेशसभा सदस्य केसीलाई कोरोना संक्रमण पुष्टि

163

बेनी । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएकामा मंगलबार साँझ आएको रिपोर्टअनुसार आफूलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशसभा सदस्य केसीले बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

म्याग्दी निर्वाचन क्षेत्र (क) बाट निर्वाचित प्रदेशसभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना संक्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन् । केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

सोमबार सङ्क्रमितको सम्पर्कमा रहेका ४६ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको बेनी नगरपालिका–७ का एक पुरुष, धवलागिरी गाउँपालिका–७ का एक पुरुष र रघुगङ्गा गाउँपालिका–२ घर भई काठमाडौं बसोबास गर्ने एक पुरुष गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...