लुम्बिनीमा बौद्ध अस्पताल सञ्चालनका लागि छलफल

181

सिद्धार्थनगर । सिद्धार्थ गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटक, लुम्बिनी क्षेत्रमा बसोबास गर्ने भिक्षुभिक्षुणी र स्थानीयवासीलाई समेत सेवा दिने उद्देश्यले महाकरुणा बौद्ध अस्पताल सञ्चालनका लागि प्रारम्भिक छलफल भएको छ । बैठकमा राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अस्पताल सन्चालन गर्ने गरी योजना अगाडि सारिएको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले लुम्बिनी विकास कोषसँगको सहकार्यमा स्तरीय अस्पताल सञ्चालनका लागि छलफल भएको बताए । अस्पतालका सम्बन्धमा अवधारणा पेश गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जसले बिरामीको सेवा गर्छ त्यसले मेरो सेवा गरेको हुन्छ भन्ने बुद्ध वचनलाई अङ्गीकार गर्दै अस्पताल सञ्चालन योजना बनाइएको बताए ।

लुम्बिनीमा अवस्थित अन्तर्राष्ट्रिय बौद्ध विहार र ध्यान केन्द्रमा बसोबास गर्ने भिक्षु एवं गुरुआमा तथा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रमा बसोबास गर्ने बासिन्दा र स्वदेशी तथा विदेशी पर्यटक गरी करिब १६ लाखभन्दा बढी मानिसलाई सेवा दिने गरी अस्पताल सञ्चालन गरिने उनको भनाइ छ ।

गर्भवती, सुत्केरी, महिला तथा बालबालिकाका लागि विशेष केन्द्रमा राखी अस्पताल सञ्चालन गरिने गरी छलफल भएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने, “लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहकार्यमा लुम्बिनीमा बुद्धिष्ट हस्पिटल सञ्चालनका लागि प्रारम्भिक छलफल भएको छ ।”

छलफलमा लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचर्य, कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य, लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपाने, विकास कोषका योजना प्रमुख सरोज भट्टराई, लुम्बिनीका स्थानीय स्वास्थ्यकर्मी शंकर गौतमलगायतले लुम्बिनीमा स्तरीय अस्पताल सञ्चालन सम्बन्धमा प्रस्तुत अवधारणामाथि आफ्नो सुझाव पेश गरेका थिए ।

प्रा केञ्जो टाँगेको गुरुयोजनामा पनि अस्पताल सञ्चालन गर्ने योजना समाविष्ट छ । लुम्बिनीको विकासमा एक हजार १ सय ५५ बिघा जग्गा दिएका स्थानीयवासीको सुविधाका लागि पनि अस्पताल उपलब्धिमूलक हुने देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...