विराटनगरमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

143

विराटनगर । कोरोना संक्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर–११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको मंगलबार मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।

धरानका मृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष तथा गएको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए ।

विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उदयपुरको बेलटार–६ घर भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिए ।

मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि सोही दिन केन्द्रमा पठाएकोमा सघन उपचार कक्ष (आइसियू)मा उपचारको क्रममा मृत्यु भएको हो । मृतक उच्च रक्तचाप र मिर्गौलाका बिरामी रहेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...