परीक्षा सञ्चालनका नाममा दस्तुर असुल्दै विद्यालय

261

सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि सुरु हुँदैछ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीले रु ५ सय थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन् । यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी रु ६ सय असुल गरिएको थियो ।

कोभिड–१९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीलाई दोहोरो दस्तुर लिनु गैरकानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाले माग गरेका छन् । पहिले नै परीक्षा दस्तुर लिइएकामा फेरि रु ५ सय थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियूका सर्लाही संयोजक विवेक मैनालीले माग गरे । विद्यार्थीलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनीसमेत दिए ।

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उनको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखाप्रमुख, पेशागत सङ्गठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा शुरु गर्ने सहमति भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर बापतको रु ६ सयमध्ये २ सय प्रवेशपत्र, प्राविधिक व्यवस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी रु ४ सय कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ । बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ । बोर्डले सहमति जनाएको भए पनि रु ५ सयको सट्टा रु ४ सय मात्रै लिइनुपर्ने मैनालीको तर्क छ । विद्यार्थीबाट करिब रु चार लाख असुल गरी हिनामिना गर्न नपाइने उनले बताए । परीक्षा बोर्डले अहिले बुझाएको रु ५ सयबाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परीक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीको ट्रान्स्किप्ट, प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने एक हजार ४ सय ५० मध्येको शुल्कमा मिलान गरी एक हजार १ सयमात्र शुल्क लाग्ने गरी साउन २३ मा शुल्क मिलान गरिएको बोर्डका काफ्लेले बताए ।

पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार काफ्लेले बताए । इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने कार्यविधि बनाएको बताए । उनका अनुसार परीक्षामा जिल्लाका क्याम्पससहित तीनवटासहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११ को पठनपाठन चलेका ६१ वटा माविहरुमा परीक्षा सञ्चालन हुने र उक्त परीक्षामा पाँच हजार २ सय ६१ जना नियमिततर्फ र दुई हजार ६ सय ६२ जना आंशिक तर्फका गरी जम्मा सात हजार ९ सय २३ परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ । जिल्लामा ४८ सामुदायिक, १६ निजी र तीनवटा क्याम्पस रहेका छन् ।

जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ । बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताए । परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालिसकेको छ । रासस

Share This:
सम्बन्धित खबर
Loading...