घरवासमा घुम्न आउने पर्यटक बढ्दै

235

लमजुङ । जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो ।

राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका संक्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएको बताए । उनका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको त्रासका कारण घरवासमा राख्न नसकिएको घरवास सञ्चालकहरुको भनाइ छ ।

केही घरवास सञ्चालकहरुले घरवासमा बस्न दिने कुरा गरेपनि अधिकाशले जोखिम भएकाले तत्काल पर्यटक राख्न नहुँने बताएका छन् । पर्यटक सोनिका श्रेष्ठले भन्छिन्, “हामी १३ जना साथीहरु मिलेर यहाँ आयौँ घुम्न पायौँ तर बस्न पाएनौँ ।” घुम्न खुल्ला गरेपनि बस्न पनि खुल्ला गरेमा पर्यटकहरुलाई सुविधा हुने उनको भनाइ छ । तत्काल घरवास सञ्चालनमा नआउने उक्त समितिले जनाएको छ । घरवासमा बस्न नदिएपनि राइनासकोट चौरमा भने आफैले त्रिपाल टाँगेर भने बस्न पाइने सो समितिका अध्यक्ष गुरुङले भने । विसं २०७५ फागुन महिनाबाट ११ घरबाट सुरुवात भएपनि यतिबेला सिंगो गाउँ अर्थात् १७ वटा घर रहेको यहाँ सबै घरमा घरवास रहेका छन् । गाउँमा सञ्चालिन सबै घरवास गरेर वार्षिक करिब ५ करोड भन्दा बढी आम्दानी हुँदै आएपनि यस वर्ष कोरोना त्रासका कारण घरवासमा पर्यटन राख्न नपाएपछि आम्दानी समेत नहुँने समितिका उपाध्यक्ष विष्णु गुरुङले बताइन् ।

राइनासकोटबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बौद्ध, गणेश हिमाल लगायतको १८ वटा हिमालहरु देख्न सकिन्छ । नेपालको एकीकरणको सुरुका विन्दु साथै प्राकृतिक रुपमा अलौकिक दृश्र्यले भरिपूर्ण ठाउँ भएको स्थानिय कृष्णराज ओलियाले बताए । विश्वकै पहिलो योग स्तम्ब पनि राइनासकोटमा रहेको पनि उनको भनाइ छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेव लगायत ऐतिहासिक स्थल समेत रहेको छ । पर्यटकीय राइनासकोट प्राकृतिक र साँस्कृतिकले भरिपूर्ण रहेको छ ।

बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास रहेको छ । राइनासकोटलाई भिटोफ नेपालले २०१८ मा गन्तव्य गाउँ घोषणा गरेको थियो । गत वर्ष गण्डकी प्रदेश सरकारले घोषणा गरेको घुम्न पर्ने १ सय १० उत्कृष्ट गन्तव्य मध्य राइनासकोट परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...