बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो

133

राँझा । बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार १ सय ६८ रहेकामा दुई हजार ८ सय ८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ सय ५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...