ललितपुरमा संक्रमितको संख्याआठ हजार बढी : ५,९७६ कोरोनामुक्त, ७७ जनाको मृत्यु

223

ललितपुर । ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड संक्रमितको सङ्ख्या आठ हजार ४ सय ६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९ सय ७६ पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४ सय १० पुगेको कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले भने, “मुलुकमा दिनानुदिन संक्रमितको सङ्ख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।” ललितपुरमा २० देखि ४० वर्ष उमेर समूहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेर माथिका धेरै संक्रमित सङ्ख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ ।

कूल संक्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी गराए । “सङ्क्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्”, उनले थपे, “जिल्लाभर संक्रमित सङ्ख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र शय्याको भने अभाव हुनेछ ।”

Share This:
सम्बन्धित खबर
Loading...