काठमाडौंमा वर्षेनी प्रदूषण र दीर्घरोगी बढ्दै

236

काठमाडौं । विज्ञहरूले नेपालमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन’ मा विज्ञले काठमाडौंमा अनियन्त्रित शहरीकरण र सवारी साधनका कारण प्रदूषण हरेक वर्ष बढ्दै गएको तथा अन्य क्षेत्रमा वन विनाश, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहनका समस्या बढ्दै गएको औँल्याए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विकासका हरेक क्रियाकलापमा वातावरणीय पक्षलाई सँगसँगै लैजानुपर्ने बताए । सरकारले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले आइइई र इआइए कार्यान्वयन नहुँदा वातावरणीय विषय झन् पेचिलो बन्दै गएको बताए ।

आइतबार भएको ‘दिगो वातावरण सत्र’ मा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले काठमाडौंमा वायु प्रदूषणको समस्या चुनौतीका रुपमा बढ्दै गएको स्वीकार गर्दै त्यसका लागि सरकारले कार्ययोजना स्वीकृत गरिसकेको बताए । ‘तीनवटै सरकारको सहकार्यमा सञ्चालन हुने गरी काठमाडौंको प्रदूषण नियन्त्रण गर्न एक्सन प्लान स्वीकृत भइसकेको छ, यही वर्षदेखि सञ्चालनमा जान्छ’, उनले भने । उनले लकडाउनका अवधिमा काठमाडौंमा तुलनात्मक रुपमा प्रदूषण घटेको पनि जानकारी दिए ।

जलवायु परिवर्तन, जलाधार संरक्षण, पानीका स्रोत र वन्यजन्तु संरक्षणका संरक्षित क्षेत्र नै घोषणा गरेर संरक्षणको काम भइरहेको उनले बताए । उनले स्थानीय सरकारमा जनशक्तिको कमी हुँदा आइइई र इआइए कार्यान्वयनमा केही समस्या देखा परेको स्वीकार गरे ।

प्रा डा मदन कोइरालाले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक रहे पनि प्रदूषण बढ्दै जाँदा नागरिकले त्यस्तो वातावरण पाउन नसकेको बताए । आइइई, इआइए दिगो विकासका उपकरण भए पनि नाम मात्रको प्रतिवेदन बनाएर अगाडि बढ्ने गरेको गुनासो उनले गरे ।

वायु प्रदूषण नियन्त्रणका लागि विश्वले नै अनुकूलका कार्यक्रम सञ्चालन गर्नाका साथै विद्युतीय गाडीलाई बढावा दिए पनि नेपालमा कर थुपारेको भनी उनले असन्तुष्टि जनाए । एनरआएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडलले सातौँ प्रदूषित मुलुकको शहरमा काठमाडौं रहेको उल्लेख गर्दै प्रदूषणका कारण दीर्घरोगी बढिरहेको बताए ।

प्रा डा दुर्गा पौडेलले विकास गर्दा वातावरणीय पक्ष जल, जमीन, जंगल, जनावरण र जलवायुलाई ख्याल गर्नुपर्ने बताए । त्रिवि, वातावरण विभाग विभागका प्रा डा रेजिना मास्केले काठमाडौं उपत्यकामा वातावरण प्रदूषणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै सवारी साधन, कलकारखाना, इँटाभट्टा, भूबनावट र कृषि क्रियाकलापका कारण उपत्यकामा वायु प्रदूषण उच्च रहेको र त्यसमा ८० प्रतिशत प्रदूषण फेब्रुवरी र मार्चमा हुने गरेको बताए ।

विश्व खाद्य कार्यक्रम भारतका प्रतिनिधि विश्व पराजुलीले जलवायु परिवर्तन र खाद्य उत्पादन चक्रका बारेमा प्रस्तुति दिँदै जलवायु परिवर्तनका कारण अतिवृष्टि अनावृष्टिका घटना बढेको र यसले खाद्य उत्पादनमा असर गरिरहेको बताए । एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा डेभिड मोल्डेनले हिमाली वातावरण र जलवायु परिवर्तनका बारेमा कार्यपत्र प्रस्तुत गर्दै २ सय ४० मिलियन नागरिक हिन्द–कुश क्षेत्रमा बसोबास गर्ने गरेको बताउँदै पछिल्लो पटक विश्व तापमानसँगै हिमालय क्षेत्रमा तापमान पनि बढिरहेकाले यसले मानव जीवन चक्रमै असर गर्ने गरेको बताए । हिमाली क्षेत्र र सेरोफेरोका देशले कार्बन उत्सर्जन घटाउनाका साथै नवीकरणीय ऊर्जाको विस्तारमा लाग्नाको विकल्प नरहेको उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा गोपी उप्रेतीले दिगो वातावरण र विकास मापदण्डका बारेमा कार्यपत्र प्रस्तुत गर्दै विकासनिर्माणका काम गर्दा वातावरणीय क्षेत्रलाई भुल्न नहुने बताए । प्रा डा मोहनबहादुर डाँगीले फोहोर व्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गर्दै कुहिने र नकुहिने फोहर छुट्टाछुटै व्यवस्थापन गर्नुपर्ने बताए । डाँगीले अहिले फोहोरको सदुपयोग गर्न नसक्दा पनि प्रदूषण भइरहेको र प्लाष्टिकजन्य प्रदूषण चुनौती बन्दै गएको विचार राखे ।

कार्यक्रममा प्रा दुर्गा पौडेल, मेदनी भण्डारी, सन्तोष चौधरी, दुर्गादत्त पौडेल, मदनप्रसाद भण्डारी, अमोद कर्माचार्य, कवीन्द्र शाक्य, भुवनेश्वर ढकाल, हेमन्त तिवारी र वसन्त गौतले कार्यपत्रसँगै वातावरण संरक्षण सम्बन्धमा आफ्नो विचार व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...