चीनका राष्ट्रपतिको भ्रमण : सचित्र पुस्तकमा

88

काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा नेपाल–चीन मिडिया फोरमले प्रकाशन गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चीन फिङस नेपाल भिजिट : अ पिक्चोरियल गाइड’ सोमबार सार्वजनिक गरिएको छ ।

सो फोरमले आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो पुस्तक सार्वजनिक गरेका हुन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

नेकपा विदेश विभाग प्रमुख नेपालले चीनसँग भएका सम्झौतालाई नेपालले कागजीरुपमा मात्र नभई व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्नेमा जोड दिँदै चीनलाई अझ विश्वासिलो र साझेदार मुलुकमा रुपमा लिनुपर्ने बताए ।

बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) चीनको मात्र स्वार्थ नभई सिङ्गो मानव जातिको हितसँग जोडिएको पहल भएकाले नेपालले यसबाट लाभ लिन सक्नुपर्नेमा उनले जोड दिए । उनले भने, “पछिल्लो समय राष्ट्रपति सीले चीनको नेतृत्व सम्हालेपछि उहाँले बेल्ट एण्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सार्नुभएको छ । पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यसमा नेपालको सहभागिताबाट अरु कुनै देश आत्तिनु पर्ने स्थिति छैन ।”

चीनका राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते २० बुँदे सम्झौता भएको थियो ।
कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९५५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयाममध्ये गत वर्षको राष्ट्रपति सीको भ्रमण थप बहुआयामिक भएको र यसले नेपालको अन्तरराष्ट्रिय हैसियत बढाएको जनाए ।

नेपालले पर्यटन, कृषि र प्रविधि तथा पूर्वाधार विकासका क्षेत्रमा लाभ लिन सक्नुपर्ने जनाउँदै उनले अन्य बहुराष्ट्रिय दातृ निकायको स्वार्थको तुलनामा चीनका साझेदारी परियोजनामा परामर्शदाता उतैबाट ल्याउने र उतै केही रकम फिर्ता लाने ढाँचा नहुने भएकाले पनि चीनसँगको साझेदारी नेपाललाई उपयोगी हुन सक्ने औँल्याए ।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेकाले त्यसलाई अभिलेखीकरण गरिएको जनाए । पुस्तकमा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल र सन योङ÷ बिएम रेग्मीका लेख समावेश छन् । पुस्तकमा दुई देशका संयुक्त वक्तव्य र उच्चस्तरीय भ्रमणमा भएका सम्झौता, राष्ट्रपति सी भ्रमणका तस्बीर र मुख्य समाचार सामग्री समावेश गरिएका छन् ।

कूल ११० पृष्ठको सो पुस्तकमा समाविष्ट तस्बिर राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, गोरखापत्र संस्थान र नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयबाट लिइएका हुन् । रासस

Share This:
सम्बन्धित खबर
Loading...