ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

112

लन्डन, एएफपी । कोरोना भाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।

कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।

विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गरेका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनेछ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।

आइएजीमा नयाँ नियुक्त भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोना भाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे । उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गरेको भन्दै प्रशंसा गरेका छन् ।

ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ ।

Share This:
सम्बन्धित खबर
Loading...