अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमा रद्ध

131

वासिङ्टन, एपी । अमेरिकी राष्ट्रपति पदकालागि प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ । राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो ।

राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउदै आएका छन् । राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो ।

राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो । यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो । सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए ।

उनले आफू राष्ट्रपतीय बहसका लागि अनिश्छुक रहेपनि चुनावी ¥यालीका लागि भने तयार रहेको शुक्रबार बताएका थिए ।गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै उनले आफूलाई पूर्ण स्वास्थ्य लाभ भइसकेकाले ¥यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् ।

उनका चिकित्सकहरुले पनि राष्ट्रपति ट्रम्पको थेरापी सकिएको र उनको अवस्था धेरै राम्रो भइसकेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख दश हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अरु लाखौ संक्रमित भएका छन् ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि गत शुक्रबार अस्पताल गएका थिए भने सोमबार निवास फर्किएका थिए । निवासबाटै पनि उनलाई उपचार गराइरहेका चिकित्सकहरुले राष्ट्रपति ट्रम्प अब सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने बताएका छन् ।

उनका फिजिसियन नाभी सेन कोन्लीले शनिबारदेखि राष्ट्रपति ट्रम्प सार्वजनिक गतिविधिहरुमा सहभागी हुन सक्षम रहेको जानकारी दिएका हुन् । स्थानीय समय अनुसार बिहीबार राती फक्स न्युजलाई दिएको अन्तरवार्तामा उनले शनिबार फ्लोरिडामा हुने र्यालीमा आफु सहभागी हुन चाहेको बताएका थिए ।

टेलिफोनबाट गरिएको अन्तर्वार्ताका क्रममा उनले आफू कुनै कुरामा पनि कमजोर र असक्षम छु जस्तो नलागेको जवाफ दिएका थिए । सोही अन्तरवार्तामा दोस्रो राष्ट्रपतीय बहसमा भने आफू सहभागी हुन नचाहेको उनले बताएका थिए । उनीहरुबीचको तेस्रो राष्ट्रपतीय बहस भने यही अक्टोबर २२ तारिखका लागि तय गरिएको छ । त्यसका बारेमा भने अहिलेसम्म अन्यौलता नै रहेको छ ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्व उपराष्ट्रपति बाइडेन डेमोक्रेटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुन लागेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...