गलकोट । बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आएका छन् । तित्याङ जाने काठेखोला पुल नजिकै उनले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका सानाठूला गरी ३० हजार बढी माछा छन् ।
विसं २०७० सालमा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आएको नारायण कृषि फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताए । जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ । अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गरेका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताए । दश रोपनी क्षेत्रफलमा रहेको उनको फार्ममा माछासँगै एक हजार ४ सय बोइलर कुखुरा, एक सयबढी लोकल कुखुरा, केही हाँस र टर्की रहेका छन् । यससँगै शर्माले उखु र केराखेती पनि गरेका छन् ।
उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाइ छ । उनले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा खुवाउने योजनानुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताए ।
“लोकल माछा लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आर्कषण हो”, शर्माले भने । उनको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । थप दुई जनाले रोजगारी पाएका छन् । कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उनले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राखेका छन् । रासस