रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

205

मोरङ । विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मंसिरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पूरा गर्न लागेको हो ।

सरकारको लगानीबाट पहिलोपटक यस क्षेत्रमा उक्त फ्लड लाइट जडान गर्न लागिएको काठमाडौंको दशरथ रंगशालापछि यो दोश्रो रहेको मानिन्छ । प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको हो । विराटनगरको शहीद रंगशाला रात्रि खेलकूदका लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामग्री शुक्रबार रंगशालाको मैदान आइपुगेको छ । जडान गर्ने कार्य आगामी मंसिर भित्रमा काम सम्पन्न हुनेछ ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । सामग्रीको अनुगमनपश्चात प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउँदै अब ढिलाइ नहुने बताए ।

ठेकेदार कम्पनीका प्रोपाइटर गणेश कार्कीले कोभिड १९ का कारण निर्माण सामग्री ल्याउन नसकेकाले जडानमा ढिलाइ भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...