काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दैछ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारदेखि प्रशिक्षण सुरु गर्न लागेको हो ।
पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौं आइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई अनुमति दिइसकेको छ ।
नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुने एन्फाले जनाएको ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।