दुईपटक शून्यमा झरेको जुम्लामा पुनः संक्रमण बढ्यो

144

जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा संक्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना संक्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना संक्रमण देखिने गरेको छ ।

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना संक्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै संक्रमित निको भएपछि दोस्रोपटक पुनः संक्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना संक्रमित भइसकेका छन् । तर, कोरोना संक्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ ।

गएको चैतयता जुम्लामा संक्रमित हुनेको सङ्ख्या ३ सय ३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत संक्रमित भइरहेका छन् ।

दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनका अनुसार सक्रिय संक्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७ सय ९२ जनाको आरटी पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता भारत दोस्रो मुलकबाट एक हजार १ सय ७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्याङ्क छ ।

आइसियू १० बेड मात्रै
यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसियूका १० बेड मात्र रहेका छन् । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ । त्यसैगरी यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा ४ सय ४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसियू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...