काेलकातामाथि पञ्जाब ८ विकेटले विजयी : प्लेअफमा पुग्ने टाेलीकाे भिडन्त राेमाञ्चक माेडमा

266

काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलावेन पञ्जाब विजयी भएको छ । सोमबार भएको रोमाञ्चक खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।

१ सय ५० रनको सामान्य लक्ष्य पच्छाएको पञ्जाबले २ विकेटको क्षतिमा भेट्टाएको थियो । पञ्जाबको जितमा मन्दीप सिंह र क्रिस गेलले अर्धशतकीय पारी खेले । सिंहले नटआउट ६६ तथा गेलले ५१ रनको योगदान दिए । यस्तै, लोकेश राहुलले २८ रन जोडे ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । कोलकाताका तीन जना खेलाडीले बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न नसक्दा सामान्य प्रदर्शन गरेको थियो ।

कोलकाताका शुभमन गिलले ५७, कप्तान इयान मोर्गानले ४० तथा लक्की फर्गुसनले नटआउट २४ रन बनाएका थिए ।

कोलकातालाई कम स्कोरमा रोक्ने क्रममा पञ्जाबका मोहम्मद शामीले ३, रवि बिस्नोइ र क्रिस जार्डनले समान २-२ विकेट लिए ।

पञ्जाबले कोलकातालाई पराजित गरेसँगै प्लेअफमा पुग्ने टोलीको समिकरण अझ रोमाञ्चक बन्दै गएको छ । जितसँगै समान १२ खेलबाट १२ अंक जोडेको पञ्जाब कोलकातालाई रनरेटको आधारमा पछि पार्दै चौथो स्थानमा उक्लिएको छ भने काेलकाता पाँचाैं स्थानमा झरेकाे छ।

Share This:
सम्बन्धित खबर
Loading...