दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदको पुनर्निर्माण सम्पन्न भएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र मुस्लिम समूदायका व्यक्तिहरुको आर्थिक सहयोग गरी कूल रु ३० लाखको लागतमा सो मस्जिदको पुनर्निर्माण सम्पन्न भएको हो ।
प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् मस्जिद पुनर्निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेका थिए ।
त्यस्तै सांसद कलिला खानको पहलमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयबाट रु ७ लाख बजेट प्राप्त भएको थियो । दमौली निवासी एवं हाल विदेशमा रहेका मुस्लिम समूदायले पनि पुनर्निर्माणका लागि करिब रु १२ लाख सहयोग गरेका थिए ।
सबैको सहयोगले मस्जिदको पुनर्निर्माण सम्पन्न भएको मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए । उनका अनुसार लकडाउनकै बेला मस्जिद पुनर्निर्माणको काम सुरु गरिएको थियो । लकडाउनका कारण काम गर्न समस्या भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १५ लाखमध्ये रु ११ लाख ७० हजारको मात्रै काम सम्पन्न भएको छ ।