डडेल्धुरामा पर्यटनका लागि कस्या टाकुरी सिँगारिँदै

281

डडेल्धुरा । जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवर्द्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करिब सात हजार फिटको उचाईमा रहेको कस्या टाकुरी पर्यटकीय महत्वको क्षेत्र भएकाले यसलाई महत्व दिइँदै छ ।

त्यहाँबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला र डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भूभाग पनि अवलोकन गर्न सकिने हुँदा अमरगढी नगरपालिकाले पर्यटन पूर्वाधारका संरचना निर्माण गर्ने काम अगाडि बढाएको छ ।

अमरगढी –७ स्थित अग्लो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार थियो । हालको नवदुर्गा गाउँपालिका –४ बेलापुरको खुनी बस्ने केशे विष्टले राजाका भारदारसँग झगडा गर्दा शाहीका भारदारहरुले हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्या टाकुरी नामकरण गरिएको स्थानीयवासी ७२ वर्षीय भोजराज भट्टराईले बताए । उनले भने,“उक्त टाकुरीमा २०–२५ वर्षअघिसम्म ढुङ्गाको मन्दिर रहेको थियो र खाना पकाउने केही भाँडाकुँडासमेत रहेका थिए ।”

कस्या टाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी काम सुरु गरेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । उनले भने,“टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रको दृश्य हेर्नका लागि दूरबिन राख्छौँ, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइने छ ।”

टाकुरीसम्म पुग्न पैदलमार्गका बीचबीचमा विश्रामस्थल र माथि चारैतिर रेलिङ लगाउने कार्य भइरहेको छ । टाकुरी उत्खनन गर्दा प्राचीनकालीन ओखल, मन्दिरका घण्टीलगायत सामग्री भेटिएको स्थानीयवासी धर्मराज भट्टराईले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...