दसैँमा रौनकविहीन बन्यो थारु गाउँ

133

कञ्चनपुर । विगतमा दसैँ आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ ।

सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाज नआउँदा यो वर्षको दसैँमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस संक्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल÷टोलमा हुने सखिया नाच नभएपछि दसैँमा थारु बस्ती सुनसान बनेको छ ।

सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रुपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो । थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरुले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । “नृत्यमा थारु समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ” उनले भने, “कोरोना कहर सकिएपछि अर्को वर्ष नृत्यलाई धार्मिक विधिका साथ गरिन्छ । यो वर्ष यस्तै रह्यो ।”

“कोरोनाका कारण विश्वनै आक्रान्त बनेको बेला सखिया नृत्यको आयोजना गर्नु मुर्खता हो”, जोनापुरका वडघर रामप्रसाद चौधरीले भने, “दसैँमा सखिया नृत्य आयोजना गर्नका लागि गुरुवासँग सल्लाह ग¥यौं । गुरुवाले नृत्य आयोजना गर्दा रोगलाई निम्त्याउनु हो भनेपछि यो वर्ष सखिया नृत्य आयोजना नगर्ने भएका छौँ ।

थारु समुदायमा दसैँका अवसरमा नाच लगेर सामूहिक रुपमा गुरुवा, वडघर र गाउँका मान्यजनबाट टिका थाप्ने चलन समेत रहेको छ । कोरोना संक्रमण हुन नदिनका लागि नाच टोलीलाई नलग्ने र सामाजिक दूरी कायम गरेर मात्र टिका टालो गर्ने व्यवस्था मिलाइएको उनले बताए । “नाच टोलीसँगै वडघर, गुरुवा कहाँ टिका थाप्न जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो”, सञ्चारकर्मी धन बहादुर कुश्मीले भने, “यो वर्षको दसैँ कोरोनाले खल्लो बनाएको छ । आफन्तजन र नातागोतासँगै बसेर चामलको पिठोबाट बनेको ढिक्री सुगुँरको शिकारसँग खादै सखियाको मज्जा लिँदै दसैँ मनाउन नपाइने भएको छ ।” कारोनाले यस वर्षको दसैँ खल्लो बनाएको उनको भनाइ छ ।

मादलको ताल सँगै कम्मर मर्काउदै सखिया नृत्यमा सहभागी हुने थारु युवतीहरु समेत दसैँका अवसरमा नृत्य गर्न नपाउँदा दुःखी भएका छन् । कोरोना संक्रमणले दसैँमा सखिहरु (सहेलीहरु) मिलेर नाचिने सखिया नृत्य गर्दा लगाउने नयाँ हातैले बुट्टा भरेर तयार पारिएका लहङ्गा र चोली समेत थारु युवतीहरुले पहिरन पाएका छैनन् । सखिया नृत्यमा थारु युवतीहरुले मादलको तालसँगै शरीरलाई विभिन्न मुद्रामा मोडेर नृत्य देखाउने गरेका छन् ।

“सहेलीसँग मिलेर सखिया नृत्य गरी रमाइलो गर्दा दसैँ आएर सकिएको पत्तो नै हुँदैन्थ्यो”, सुनिता चौधरीले भनिन्, “दसैँका बेला गाउँमा बेग्लै किसिमको रौनक हुन्थ्यो । मादलको तालमा नृत्य गर्दाको अनुभूति नै बेग्लै किसिमको हुन्थ्यो । कोरोना संक्रमणले सखिया नृत्य नगर्ने भएपछि गाँउ नै सुनसान छ ।”

Share This:
सम्बन्धित खबर
Loading...