मिथिलाका नारीद्वारा खोइँछ भर्ने विधि सम्पन्न

212

जनकपुरधाम । दसैँको अष्टमीका दिन शनिबार मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको खोइँछ (पोल्टा) भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्र सुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने गर्दछिन् भनी खोइँछ भर्ने मान्यता रहेको पनि पाइन्छ । मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो । प्राध्यापक डा पशुपतिनाथ झा खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको बताउँछन् ।

भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शाक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उनले स्पष्ट गरे ।

खोइँछलाई जनभाषामा खोंइछा पनि भनिन्छ । खोंइछ दिनुलाई समृद्धि, परिपूर्णता र भावनात्मक शुभाशीषको प्रतीक मानिन्छ । यसको सम्बन्ध आँचलसँग हुन्छ । आँचल महिलाका लागि सबैभन्दा ठूलो निधि हो । आँचल यस्तो अमूल्य हो जसलाई बाँधिएमा खोंइछ र खोलेमा आँचल हुने गरेको छ । खोंइछमा प्रमुख रूपले प्रदान गरिने धानलाई अन्नपूर्णा देवीको प्रतीक मानिन्छ जसको अभिप्राय अन्नको अभाव कहिल्यै नहुने, दुबोलाई भगवान शिव र विष्णुको प्रतीक मानिन्छ जसको अर्थ ईश्वरको अनुकम्पा सधैँ रहिरहने र बेसारलाई बिष्णुको र सिन्दूरलाई सौभाग्यको प्रतीक मानिएको छ ।

त्यसो त मिथिलाञ्चलमा महिलाले माइतबाट ससुराली, ससुरालीबाट माइती, एक स्थानबाट अर्को स्थान जाने बेलामा पनि खोइँछ भर्ने प्रचलन रहेको पाइन्छ । यो विधि कुल देवता र देवीको मन्दिरमा गरिन्छ । कुल देवता र देवीको मन्दिरमा खोंइछ भर्नुको अर्थ कुल देवता र देवीलाई साक्षी राखी सौभाग्यको आराधना र संकल्प गर्नु हो । खोंइछ भर्ने प्रचलन अनादिकालदेखि आइरहेको मानिन्छ । माता सीता र सावित्रीले पनि खोंइछ भर्ने विधि गरेको जनधारणा पाइन्छ । प्राचीनकालमा छोरीलाई घरबाट विदाइ गर्ने बेलामा आमाले आँचलभर खोंइछ भरी बिदा गरेको र छोरीको घरमा अन्नपूर्णाको वास होस् भनी कामना गरेको प्रसङ्ग पनि जनमानसमा पाइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...