काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर

139

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् ।

काभ्रेपलाञ्चोकमा बुधबार ३१ संक्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट जनाएको छ । मंगलबार ७१, सोमबार १६ र आइतबार २३ जना कोरोना संक्रमणमुक्त भएका थिए ।

पोष्टका अनुसार बुधबार १७ महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये बनेपाका १५, मण्डनदेउपुरका सात, धुलिखेलका सात र नमोबुद्ध नगरपालिकाका एक तथा बेथानचोक गाउँपालिकाका एक छन् । “एकै दिन दोब्बर सङ्ख्यामा संक्रमणमुक्त भएको यो पहिलोपटक हो”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार जिल्लामा हालसम्म ५ सय १५ महिलासहित एक हजार ३ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशत अर्थात् ८ सय ३५ संक्रमणमुक्त भएका हुन् ।

हालसम्म कोरोना संक्रमणबाट जिल्लामा आठ पुरुष र सात महिला गरी १५ जनाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो संक्रमण देखिएको थियो । कोरोना संक्रमितमध्ये ४० प्रतिशत अर्थात् ५ सय २६ बनेपा नगरपालिकाका छन् । तीमध्ये ३ सय ४ पुरुष र २ सय २२ महिला छन् । हालसम्म २ सय ३४ पुरुष र १ सय ४९ महिला गरी कूल ३ सय ८३ जना संक्रमणमुक्त भएको बनेपा नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये चार गाउँपालिका तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली कोरोनामुक्त भएका छन् । कूल संक्रमितमध्ये ६२ प्रतिशत पुरुष हुन् । हाल सक्रिय संक्रमितमध्ये ९३ अस्पतालको आइसोलेसन र ४० सय होम आइसोलेसनमा उपचाररत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...