घलेगाउँ घरबास खुले पनि आएनन् पर्यटक

109

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास गत भदौ १ गतेदेखि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा यहाँ घरबास सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ४ सय जनाको हाराहारीमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीँ जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेका ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए । कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरवास सञ्चालक बढी मर्कामा पर्न थालेको घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घलेगाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमालचुली हिमाल, ङादीचुली (डा हर्क हिमाल) र बुद्व हिमाल देख्न सकिन्छ । नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घले राजाको पार्क, गुरुङ सङ्ग्राहलय हेर्न सकिन्छ । जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

त्यस्तै बेँसीशहर नगरपालिका–३ काउलेपानीमा रहेको घरवास (होमस्टे) भने दसैँपछि सञ्चालनमा आउने भएको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले तत्काल घरवास सञ्चालन गर्न नसकिएको काउँलेपानी पर्यटन व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...