कालोबजारी बढेपछि बजार अनुगमन तीव्र

344

लहान । चाडपर्वको मौकाछोपी कालोबजारी भइरहेको जनगुनासोपछि सिरहामा खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन सुरु गरेको छ ।

कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य बस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले सिरहा र सप्तरी जिल्लाको प्रमुख बजारहरुमा रहेको खाद्यान्न तथा मिठाइ पसलहरुको अनुगमन सुरु गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा लहानमा थालिएको अनुगमनका क्रममा लहान नगरभित्र एक दर्जन किराना पसल तथा मिठाइ पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलहरुबाट ठूलो मात्रामा म्याद गुज्रेका फ्रुटी, बदाम जुस, बिस्कुट, चाउचाउ, मसलालगायतका सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।

पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोगलगायतमा अनुगमन केन्द्रित रहेको उनले जानकारी दिए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्य बस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको कथन थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताए।

Share This:
सम्बन्धित खबर
Loading...