दमक । कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा मंगलबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीया वृद्धा र वडा नम्बर ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती संक्रमितलाई आइतबार उपचारका लागि विर्तामोड ल्याइएको थियो ।
त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए । दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो ।
त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुवै संक्रमितको मंगलबार कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।