एकै दिनमा बिक्यो ५४० खसीबोका

324

काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादसैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५ सय ४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

सोमबार आएका ६ सय ५ खसीबोकामध्ये बाँकी भएका ६५ र मंगलबार बिहान आएका एक सय गरी १ सय ६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार थप २ सय ९५ खसीबोका आउने क्रममा छन् ।

हेटौंडा र दाङबाट थप खसीबोका मंगलबार साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो ।

अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरिदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ । हेटौंडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकिलो रु १० छुट दिएर रु ५ सय ५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो रु ६ सयदेखि ६ सय ५० सम्म बिक्री गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...