कोराेना कहर : सम्भव होला नेकपा बैठक ?

221

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड–१९ बाट दैनिक दुई हजार मानिस काठमाडौं उपत्यकामा संक्रमित छन् । यस्तो स्थितिमा केन्द्रीय कमिटी बैठक होला त ?

गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ ।

केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी र छ । उक्त बैठक हुने, नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताए । “नेताहरु स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनुभएको छ । त्यसैअनुसार केन्द्रीय कमिटी बैठकको मिति तोकिएको छ ”, उनले भने, “तर अहिले उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि ?” उनले बैठक सरेको निर्णय नभएकाले आवश्यक तयारी आफूहरुले गरेको बताए ।

केन्द्रीय कमिटी सदस्य ४ सय ४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ । मुलुकभरि एक लाख ३२ हजार २ सय ४६ र काठमाडौंमा मात्र ५५ हजार ३ सय ८७ जनामा संक्रमण देखिएको छ । “बैठक सरेको छैन । शीर्ष नेताहरु भर्चुअल बैठक गर्ने कि भन्ने सोचमा हुनुहुन्छ”, उनले भने, “स्थिति हेरेर बैठक बस्ने, नबस्ने टुङ्गो लाग्छ ।”
बैठक बस्ने निश्चित नभएको र स्थलको पनि यकिन गरिएको छैन । अघिल्लो वर्ष नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत माघमामा राष्ट्रियसभागृहमा बसेको थियो ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बैठकबारे औपचारिक जानकारी अझै आइनसकेको बताए । उनले कोभिडका कारणले बैठक के हुन्छ भन्न नसकिने जनाउँदै बैठकको देखिने गरी तयारीसमेत नभएको बताए । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सरेको जानकारी अझै आइनसकेकाले बैठक हुनेमा आफू विश्वस्त रहेको जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...