गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

138

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन पोखरा(रेबान)को २६औँ साधारणसभा तथा १४औँ अधिवेशनको उद्घाटनसत्रमा मुख्यमन्त्री गुरुङले कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘ हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताए ।

प्रदेशले पर्यटन क्षेत्रमा दैनिक रु २७ अर्ब घाटा क्षेत्रमा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिए । स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनाको विकल्प नभएको उनको भनाइ थियो । उनले रानीवनलाई जैविक विविधतायुक्त सिटी पार्कमा विकास गर्ने र लेखनाथ पचभैयास्थित जुलोजिकल पार्क र मिनी मुस्ताङको अवधारणालाई साकार पारिने बताए ।

फेवाताल सीमाङ्कन तीव्र
सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ को असर ठूला ठूला व्यवसायीलाई मात्रै नभएर साना तथा मझौला व्यवसायीलाई पनि परेको उल्लेख गर्दै सरकारले उनीहरुको समस्याको सम्बोधन गर्नुपर्ने बताए । लामो समयदेखिको विवादित फेवाताल सीमाङ्कनको कामले तीव्रता पाएको जनाउँदै उनले फेवातालको विषय टुङ्गेपछि पोखराको पर्यटनमा थप उत्साह थपिने विश्वास गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कोभिड–१९ को प्रभावले मृतावस्थामा पुग्न लागेको पर्यटन क्षेत्रलाई जीवित राख्नका लागि प्रदेश सरकारलाई संघीय सरकारसमक्ष आफ्ना कुरा आग्रह गरे । संस्थाका पूर्वअध्यक्ष गणेश भट्टराईले निकै असहज अवस्थामा रहेका पर्यटन व्यवसायीले यतिबेला सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरे ।

रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले रेष्टुरेण्ट व्यवसायलाई पर्यटन क्षेत्रमा सामेल नगराएर विभेद गरेको बताए । नेपालभरि रु १० अर्ब लगानी रेष्टुरेण्टमा भएको र करीब रु एक लाखले रोजगार पाएको यस क्षेत्रमा अहिले कोभिड–१९ बाट ७० हजारले रोजगार गुमाएको जानकारी दिए । प्रत्यक्ष र अप्रत्यक्ष पर्यटनसँग जोडिने यस क्षेत्रप्रति सरकार सधैँ उदासीन रहेको उनको गुनासो थियो ।

संस्थाका अध्यक्ष भीमसेन भुजेलले अहिलेका अवस्थामा मौद्रिक नीति कार्यान्वयन नहुँदा व्यवसायी झन् मर्कामा परेको गुनासो गरे । अधिवेशनको बन्दसत्रले आज नै नयाँ कार्यसमिति चयन गर्ने संस्थाका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । उनका अनुसार रेबान पोखरामा ८० सदस्य छन् । सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...