नेपाली जनताले असाधारण संकल्पको अपेक्षा गरेका छन् : प्रधानमन्त्री प्रचण्ड

66

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेको बताएका छन् ।

“यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, उनले भने, “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौँ । हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिने छौँ ।”

प्रतिनिधिसभाको पहिलो बैठकलाई आज लिखित सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट देखेकाले समस्या केलाएर बस्ने छुट नभएको बताए । उनले भने, “हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु पर्ने छ । समाधानतर्फ अगाडि बढ्नु पर्ने छ ।”

प्रतिनिधिसभामा लैंगिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताए । प्रधानमन्त्री प्रचण्डले फरक–फरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गरे ।

यसपटक प्रतिनिधिसभामा नयाँ दलको प्रवेश भएको स्पष्ट पार्दै उनले भने, “संसद्‌मा नयाँ अनुहार थपिनुभएको छ । बिना कुनै इर्ष्य म मनैदेखि भन्न चाहन्छु, तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो । तपाईंहरुमा पक्कै एउटा आवेग र केही गरी छाड्ने हुटहुटी छ । त्यो हुटहुटी नयाँ संसद्को पुँजी हो ।”

प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिको महाअभियानमा केन्द्रित गर्नु तथा विभेद बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु पर्नेमा जोड दिए ।

“आर्थिक क्रान्तिको साझा संकल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नुछ,” उनले भने । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सार्थक संवादको थलो बन्ने आशा व्यक्त गरे । उनले भने, “हाम्रा अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्ने छ । त्यो संकल्प हामी सबैले लिनुपरेको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...