सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो, आइतबार पुनः बस्ने

36

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनलको भनाइ छ ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

“निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ,” मन्त्री कार्कीले भने ।

आज मुख्यगरी अहिलेको राजनीतिक परिस्थितिबारे छलफल गरिएको उनको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय भोलि सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...