धरान, २ चैत । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको बसाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आइतबार भएको खेलमा उदयपुरको बसाहा क्लबले न्यु स्टार क्लब बराहा क्षेत्रलाई ‘ट्राइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । बसाहा क्लबका लागि रितेश तामाङले ५७औँ मिनेटमा तथा अनिश बस्नेतले ७६औँ मिनेटमा गोल गरेका थिए । यस्तै, न्यू स्टार क्लबका नितेश लिम्बूले खेलको नवौँ र ५९औँ मिनेटमा गोल गरेका थिए ।
ट्राइब्रेकरमा बसाहा क्लबका रितेश तामाङ, विवेक चौधरी, आयुष राई र पवन मगरले गोल गरेका थिए भने न्यू स्टार क्लबका सन्दीप श्रेष्ठ, नितेश लिम्बू र भीम विकले गोल गरे भने सुसान्त तामाङ र उमेश कार्कीले गोल गर्न सकेनन् । आजको खेलको ‘प्लेयर अफ दी म्याच’ बसाहा क्लबका गोलकिपर सन्दीप भट्टराई घोषित भए । उनले पाँच हजार ५०० रूपैयाँसहित मेडल प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।
सोमबार क्वाटरफाइनल खेल सङ्खुवासभाको लोहोरुङ फुटबल क्लब र तेह्रथुमको चुत्तन स्पोर्टिङ क्लबबिच हुने छ । यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले चार लाख चार हजार रूपैयाँ तथा उपविजेताले दुई लाख दुई हजार २०० रूपैयाँ प्राप्त गर्ने छ ।