दाताले सहयोग रोके पनि एचआइभी नियन्त्रणमा सरकार फरक ढंगले अघि बढेको छ : डा.शर्मा [भिडिओ]

6
  • प्रमिला कार्की

काठमाडौँ, १५ मङ्सिर । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माले नेपालमा एचआइभी नियन्त्रण र उन्मूलनतर्फको प्रगति उल्लेखनीय रूपमा अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उहाँले नेपालमा हाल एचआइभीको एस्टिमेटेड पपुलेसन करिब ३४ हजार रहेको बताउनुभयो । उहाँको भनाइअनुसार २७ हजारभन्दा बढी संक्रमितले नियमित रूपमा ‘फ्री एआरटी’ सेवा प्राप्त गरिरहेका छन् ।

उहाँले नेपालले सन् २०३० सम्म एचआइभी, एसटिआई र हेपाटाइटिस–सी को उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य अनुरूप ‘९५–९५–९५’ उद्देश्यमा ठोस प्रगति गरिरहेको बताउनुभयो ।

पहिलो (एचआइभी परीक्षण गर्ने लक्ष्य)मा नेपाल ९० प्रतिशत, दोस्रो (औषधि उपचारमा ल्याउने) मा ८८ प्रतिशत, तेस्रो (भाइरल लोड दबाउने)मा ७६ प्रतिशतमा पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले एचआइभी संक्रमितको अवस्था इस्टिमेटेड पपुलेसन ३४ हजार हो । त्यसमा हाम्रो टार्गेट भनेको सन् ३० सम्ममा एचआइभीलाई इलिमेनेसन गर्ने भन्ने हो । पपुलेसनमा हामीले टेस्ट गर्ने र तथ्याङ्क निकाल्ने हो । त्यो टेस्ट गर्दाखेरि हामीले ९५ प्रतिशत पुर्याउनुपर्छ ।”

डा.शर्माका अनुसार पछिल्ला १० वर्षमा नेपालमा नयाँ एचआइभी संक्रमण ७६ प्रतिशतले घटेको छ भने मृत्यु हुने दर पनि ७६ प्रतिशतले कमी आएको छ । उहाँले भन्नुभयो, “तर, टेस्टिङ गरेर औषधि खाने हकमा घटेको छ । सन् २०१० देखि अहिलेसम्मको डाटा हेर्ने हो भने नयाँ इन्फेक्सन एचआइभीको ७६ प्रतिशतले घटेको छ र एचआइभीबाट मृत्यु हुने दर पनि ७६ प्रतिशतले घटेको छ । त्यो भनेको संक्रमित त्यसरी बढेको छैन ।”

यसैगरी डा.शर्मा नेपालमा एचआइभी नियन्त्रणको अवस्था सकारात्मक दिशामा अघि बढिरहेको बताउनुहुन्छ । उहाँका अनुसार सन् २०३० सम्म एचआइभी, एसटिआई र हेपाटाइटिस–सी उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यअनुसार नेपालले ‘९५–९५–९५’ सूचकमा उल्लेखनीय प्रगति गरेको छ ।

परीक्षणमा पहिलो ९५ को लक्ष्यमध्ये ९० प्रतिशत प्राप्त, उपचारमा दोस्रो ९५ को लक्ष्यमा ८८ प्रतिशत, भाइरल लोड दबाउने तेस्रो ९५ मा ७६ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

नयाँ संक्रमण र मृत्यु दर घट्दै
डा.शर्माका अनुसार पछिल्ला दशकमा एचआइभीका नयाँ संक्रमण ७६ प्रतिशतले घटेका छन् । मृत्युदर पनि उस्तै प्रतिशतले कम भएको बताउँदै उहाँले नेपालको प्रगति दक्षिण एसियाका अन्य राष्ट्रहरूभन्दा अघि रहेको दाबी गर्नुभयो ।

९६ एआरटी साइट सञ्चालनमा
देशभर ९६ वटा एआरटी साइट सक्रिय रहेको र सेवा विस्तार गर्दै सबै ७७ जिल्लामा उपचार उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । परीक्षण, उपचार, औषधि, भाइरल–लोड परीक्षणदेखि गर्भवती महिलामा संक्रमण रोकथामसम्मका सबै सेवा निःशुल्क उपलब्ध रहने उहाँले स्पष्ट पार्नुभयो ।

व्यक्तिगत सतर्कता र समयमै परीक्षणको महत्त्वबारे उनले जोड दिँदै भन्नुभयो, “राज्यले औषधि र उपचार उपलब्ध गराइदिन्छ, तर जाँच र उपचारका लागि आफ्नो जिम्मेवारी नागरिकले पनि पूरा गर्नुपर्छ ।”

लक्षित समूहमा बढी संक्रमण
नेपाल हाल कन्सन्ट्रेटेड एपिडेमिकको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा प्रचलन ५ प्रतिशतभन्दा बढी देखिने भएकाले जोखिम उच्च रहेको बताउनुभयो । त्यसका साथै भारत जाने माइग्रेन्ट कामदार, सुई प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौनकर्मी, कारागारका कैदीबन्दी, र एचआईभी पोजिटिभ व्यक्तिका परिवार मुख्य कि–पपुलेसन रहेको उहाँले बताउनुभयो ।

सेवा विस्तार र राज्यको तयारी
उहाँले देशभर ९६ वटा एआरटी साइट सञ्चालनमा रहेको र आगामी वर्षहरूमा सबै ७७ जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । परीक्षण, उपचार, भाइरल–लोड जाँचदेखि लिएर गर्भवती महिलामा संक्रमण रोकथाम कार्यक्रमसम्म सबै सेवा पूणरूपमा निःशुल्क रहेको उहाँले स्पष्ट पार्नुभयो ।

विशेषगरी अन्तर्राष्ट्रिय दाता निकायको सहयोग घट्दै गएको अवस्थामा नेपाल सरकारले उपचार, औषधि आपूर्ति र परीक्षण सेवालाई सस्टेनेबल बनाउँदै लगेको उहाँले बताउनुभयो । “कतिपय अफ्रिकी देशमा एआरटी केन्द्र बन्द भए, तर नेपालमा त्यो अवस्था आउन दिइएन,” उहाँले भन्नुभयो ।

चुनौतीः दाता सहयोग घट्दै
अमेरिकी सरकारको नीतिगत परिवर्तनपछि केही समुदाय–केन्द्रित कार्यक्रम (कण्डम, लुब्रिकेन्ट वितरणजस्ता) प्रभावित भएको उहाँले स्वीकार्नुभयो । तर, आगामी बजेट र नयाँ रणनीतिमा ती सेवालाई राज्यकै खर्चमा समावेश गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

नागरिकको जिम्मेवारी पनि महत्त्वपूर्ण
डा.शर्माले एचआईभी परीक्षण, समयमै उपचार लिनु र नियमित औषधि सेवन गर्नु प्रत्येक नागरिकको व्यक्तिगत दायित्व भएको उल्लेख गर्दै, ‘राज्यले सेवा उपलब्ध गराइदिन्छ, तर आफू अवेर भएर समयमै जाँच र उपचारमा जानुपर्छ,’ उहाँले भन्नुभयो ।

यस वर्षको विश्व एड्स दिवसको नारा ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ रहेको छ । उहाँका अनुसार ७७ वटै जिल्लामा एड्स दिवस मनाउन आवश्यक बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “डिसेम्बर १ मा ३८ औँ विश्व एड्स दिवस भव्यतापूर्वक मनाइन्छ । यसले जनचेतना बढाउने र उन्मूलन लक्ष्यका लागि देशलाई एकताबद्ध गर्ने अवसर प्रदान गर्छ ।” -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...