एचआइभी सङ्क्रमितका लागि विश्वमै पहिलो पटक नेपालमा खुलेको शिक्षालयको कथा [भिडिओ]

5

काठमाडौँ, १५ मङ्सिर । करिब १६–१७ वर्षअघि दाङमा एचआइभी संक्रमित बालबालिकाको दयनीय अवस्था देखेपछि सुरू गरिएको सानो सहयोग अभियानले आज एक संस्थागत रूप लिएको छ । सफलता एचआइभी शिक्षा सदनका संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार संक्रमित बालबालिकाहरुसँगको पहिलो भेट नै उहाँको जीवनमा नयाँ मोड बन्न पुग्यो ।

एउटा राष्ट्रिय दैनिक पत्रिकामा दाङ जिल्लामा एचआइभी संक्रमित बालबालिका बिचल्लीमा भन्ने समाचार प्रकाशित भएपछि पुन र उहाँका साथीहरु दाङको घोराहीमा रहेका १६ जना संक्रमित बालबालिकाहरुलाई केही राहत सामग्री लिएर भेट्न जानुभएको थियो । तर, त्यहाँको स्थिति देखेर पुन र उहाँका साथीहरु त्यसै बस्न सक्नुभएन ।

एचआइभी पीडित बालबालिकालाई सहयोग गरेर फर्किने बेलामा एक बच्चाका आफन्तले ‘यो बच्चालाई पनि लगिदिनुस्, नत्र हाम्रो नानी–बाबुलाई पनि एचआइभी सर्छ’भन्दै गरेको आग्रहले राजकुमार पुनको मन निकै छोएको थियो । ती आफ्न्तले पुनसँग गरेको आग्रहले ती बालबालिकाहरुप्रति समाजले गर्ने विभेदपूर्ण व्यवहार प्रष्ट रुपमा झल्किन्थ्यो ।

त्यो विभेद्पूर्ण व्यवहारले पुन र उनीसँगै गएकी उमा गुरुङलगायत टोलीलाई गहिरो गरी सोच्न बाध्य बनायो । पुन भन्नुहुन्छ, “त्यो बेला बच्चाहरुलाई काठमाडौँ ल्याउने कुनै योजना थिएन, तर त्यस्तो पीडा देखेपछि दीर्घकालीन केही गर्नुपर्छ भन्ने अठोट जन्मियो ।”

काठमाडौँ फर्किएपछि ‘बेबी लाइफ होम’ नामक बालगृह दर्ता गर्दै पुन र उहाँका साथीहरुले चार बालबालिकालाई ल्याएर काम सुरु गर्नुभयो । उनीहरुले बालबालिकालाई पढाइलेखाइ, स्वास्थ्य उपचार, काउन्सिलिङ र आवासीय संरक्षण पनि उपलब्ध गराउनुभयो । तर, उनीहरूलाई सरकारी तथा निजी विद्यालयहरूले भर्ना लिन मान्न तयार भएनन् । “नर्मल स्कुलमा पढाउने हाम्रो पहिलो योजना असफल भएपछि हामी स्वयंले विद्यालय खोल्न बाध्य भयौँ,” पुन सम्झिनुहुन्छ ।

विसं २०६८ सालमा ‘पहिचानसहितको विद्यालय’ संस्थागत रूपमा स्थापना भयो । नेपालमा मात्र नभइ विश्वमै आफ्नो पहिचान खुलाएर एचआइभी संक्रमित बालबालिकालाई शिक्षादेखि आवाससम्म उपलब्ध गराउने यो पहिलो संस्थागत मोडेल हो ।

बेबी लाइफ होममा अहिले २८ जना एचआइभी संक्रमित बालबालिका बस्दै आएका छन् । बेबी लाइफ होमले सञ्चालन गरेको ‘सफलता एचआइभी शिक्षा सदन’मा यतिबेला १ कक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । कुनै कक्षामा एकजना मात्रै बच्चा भएपनि शिक्षा सदनले नर्मल स्कुल सरहको नै करिकुलम लागु गरेको छ । यसै विद्यालयबाट पास भएका एकजना विद्यार्थी अहिले एमबिबिएस अध्ययन गरिरहेका छन् भने सात जना ब्याचलर लेभलमा अध्ययनरत छन् ।

समाजको विभेददेखि आत्मविश्वाससम्म
सुरुमा बालबालिकाहरु आफन्तबाट सुनेका पीडादायी शब्दहरूले त्रसित थिए । उनीहरुका आफन्तले ‘तिमीहरुका बुवा आमा जस्तै तिमीहरु पनि छिट्टै मर्छौँ’ भन्ने गरेका कारण बालबालिकाहरुको मनोबल निकै खस्केको अवस्थामा थियो । तर, ती बालबालिकाहरुलाई पुन र गुरुङले काउन्सिलिङ गर्दै मनोबल बढाउनुभयो ।

‘एचआइभी जीवनको अन्त्य होइन, तिमीहरू पनि अरू सरह केही गर्न सक्छौ’ भन्दै पुनले ती बालबालिकाहरुलाई जीवनको नयाँ आसा देखाउन थाल्नुभयो । जसलेगर्दा आज उनीहरू बढी आत्मविश्वासी छन् । घर नजिकैको धारामा पानी भर्न जाँदा मानिसहरू यी बच्चाहरुलाई छुन डराउँथे एउटै खेलमैदानमा खेल्न नदिने चलन थियो ।

दुई संस्थापकको १६ वर्षको समर्पण
संस्थापक सात जनामध्ये आज ‘पूर्ण समय’ दिन सक्ने उमा गुरुङ र राजकुमार पुन मात्र छन् । उमा गुरुङले आफ्नै कस्मेटिक व्यवसाय नै बन्द गरेर बालबालिकालाई सहयोग गर्नुभएको थियो भने पुनले कीर्तिपुरमा रहेको आफ्नो दुईतले घर बेचेर संस्थाको खर्च चलाउनुभएको थियो ।

पहिलो तीन–चार वर्षसम्म उनीहरूले कुनै पनि दाताको सहयोग नलिएर स्वयं आफ्नै खर्चबाट संस्था धानेका थिए । पछि समाजका शिक्षित वर्ग, जन्मदिन तथा वैवाहिक वर्षगाँठ मनाउने व्यक्तिहरू, पितृ तर्पणको रूपमा दान गर्ने दाताहरू क्रमशः जोडिँदै गएपछि बालबालिकाहरुका लागि खर्च जोहो गर्न विस्तारै सहज बन्दै गएको हो ।

सुरुमा उहाँले उमा गुरुङसँग मिलेर सुरुवातमा बसुन्धराको एउटा घरमा बालबालिकालाई राखियो, पछि पुनले आफ्नै घरमा आश्रय दिनुभयो । घर बेचिसकेपछि आवास खोज्न थाल्दा धेरै घरधनीहरूले ‘यो बच्चा मरेर घर अपवित्र हुन्छ’ भन्दै घर भाडा दिन अस्वीकार गरे । विद्यालयहरूले पनि भर्ना लिन मानेनन् । सामाजिक गाली गलौज र आरोप ‘यो नाम र दामका लागि गरेको हो’ भन्ने आरोपहरूले मन दुखाए पनि उनीहरू पछि हटेनन् ।

स्थानीय समुदायबाट समेत विरोध आएपनि निरन्तर संवादपछि विस्तारै सबै बुझ्दै गए र विद्यालय सञ्चालनमा सहयोगी बने । पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफ्नो कार्यकालमा संस्थालाई एक करोड रुपैयाँको अक्षयकोष उपलब्ध गराइएको थियो । स्वास्थ्य उपचारका लागि पनि सरकारी संयन्त्रले केही सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्था पूर्ण रूपमा दानमा निर्भर नहोस् भन्नका लागि पुन र गुरुङले ज्याकेट फ्याक्ट्रीदेखि कृषि फर्म जस्ता व्यवसाय सञ्चालन गरेका छन् । संस्थामार्फत् ब्याचलर पढिरहेका विद्यार्थीलाई पनि आत्मनिर्भरताको सीप र ‘डोनेसनमा मात्र भर पर्न नहुने शिक्षण’ दिइँदै आएको छ ।

सुरु सुरुमा संस्थालाई ‘डोनेसन खाने संस्था’ भनी आरोप लगाउनेहरु धेरै थिए । पुन भन्नुहुन्छ, “त्यस्ता आरोप र बचनले नै हाम्रो आत्मविश्वास झनै बढायो र हाम्रो जीवनभरको जिम्मेवारी यहीँ हो भनेर हामी लअघि बढ्यौँ ।” १६ वर्षअघि सुरु गरिएको एउटा सहानुभूतिपूर्ण कदम आज २८ एचआइभी संक्रमित बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणको भरपर्दो आधार बनेको छ ।

हाल विद्यालय चलाउन मासिक करिब दुई लाखभन्दा बढी खर्च हुन्छ, जसमा शिक्षक–कर्मचारी तलबदेखि स्वास्थ्य उपचार र भोजनसमेत पर्छ । सरकारले दिएको एक करोड अक्षय कोषबाट बर्सेनि ६ प्रतिशत ब्याज मात्र आउँछ, कीर्तिपुर नगरपालिकाबाट केही रकम आउँछ, बाँकी सबै खर्च पुन र गुरुङले आफ्नै व्यवसाय-ज्याकेट फ्याक्ट्री र कृषि फर्म-बाट बेहोर्छन् ।

पुन भन्नुहुन्छ, “दुःख–सुख भए पनि शिक्षकको तलब रोकिएको छैन, बालबालिकाको उपचार कहिल्यै रोकिने अवस्था आएको छैन ।” यद्यपि, एचआइभीसम्बन्धी सचेतना वर्षौँदेखि फैलाइँदै आए पनि समाजमा विभेद अझै उस्तै रहेको पुनको अनुभव छ । “सँगै बस्दा सर्दैन, सँगै खाँदा सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि व्यवहारिक रूपमा विभेद् कम भएको छैन,” उहाँ भन्नुहुन्छ ।

यहाँ सरकारसमक्ष एचआइभी भएकै कारण पढ्न, रोजगार पाउन वा सामाजिक सेवाबाट वञ्चित गरिएका व्यक्तिलाई न्याय दिलाउने स्पष्ट नीति बनोस्’ भन्ने माग राख्नुहुन्छ । समुदायमा ‘पहिचान नखुलाउने’ सामान्य प्रवृत्तिको बीचमा पुनले भने ‘पहिचानसहित’ विद्यालय स्थापना गर्नुभयो, किनभने नाम लुकाएर विभेद् हटाउन नसकिने उहाँको तर्क छ ।
उहाँ भन्नुहुन्छ, “यी बच्चाहरू गाउँमै ढुङ्गा हानेर लखेटिने अवस्था छ, स्कुलहरूले भर्ना लिँदैनन् भने पहिचान लुकाएर न्याय कहाँ मिल्थ्यो ?” हाल संस्थामा रहेका २८ बालबालिकाहरु मध्ये अधिकांशका अभिभावक एचआइभीकै कारण बितिसकेका छन् ।

धेरै वर्षदेखि दसैँ–तिहार लगायत चाडपर्व समेत बालबालिकासँगै मनाउँदै आएका पुन भन्नुहुन्छ,“यी नै हाम्रा परिवार हुन् ।” समयमै एआरभी औषधि लिए एचआइभी भएका व्यक्तिले सामान्य जीवन बाँच्न सक्ने कुरा उनीहरूको अनुभवले प्रमाणित गरिरहेको छ । यहीँ विद्यालयबाट पढेका विद्यार्थीहरू प्लस टु, ब्याचलर हुँदै आज एमबिबिएससम्म पुगेका छन् । पुन विशेष गर्वका साथ भन्नुहुन्छ,“एमबिबिएस पढ्दै गरेको हाम्रो बाबु केही वर्षपछि समाजका गरिब–असहायका लागि निःशुल्क सेवा दिन सक्छ ।”

समाजप्रति पुनको अन्तिम आग्रह सरल छ, “सकिएकै ठाउँबाट सहयोग गरौँ-पैसा मात्रै होइन, हौसला र माया दिन पनि ठुलो कुरा हो । एचआइभी भएको भन्दै छि–छि नगरौँ । उनीहरू पनि अरु जस्तै नागरिक हुन् ।” १६ वर्षको निरन्तर संघर्षपछि ‘पहिचानसहितको विद्यालय’–सफलता एचआइभी शिक्षा सदन आज एचआइभी संक्रमित बालबालिकाको शिक्षादेखि भविष्य निर्माणसम्मका लागि सुरक्षित र प्रेरणादायी आश्रय बनेको छ । सम्भवत विश्वमै पहिलो पटक यस्तो मोडलमा वा एचआइभी संक्रमितहरुका लागि मात्र खुलेको पहिलो विद्यालयका रुपमा पनि पहिचान स्थापित गरेको छ । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...