राम्रो खेल्दा पनि नतिजामा चुक्यौँ : गुल्सन झा

8

काठमाडौँ, १५ मङ्सिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज सम्पन्न खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ । यो जितले आठ अङ्क जोडेको काठमाण्डुले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली भने प्लेअफबाट बाहिरिने सङ्घारमा पुगेको छ ।

आइतबारको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रै खेल्दा पनि नतिजामा चुक्नुपरेको बताए ।

“राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको छ”, उनले भने, “सबैले राम्रो खेलिरहेका छौँ । तर नतिजा हाम्रो पक्षमा ल्याउन सकिरहेका छैनौँ ।” अब खेल्न बाँकी रहेका दुई खेल जित्ने र अझै पनि प्लेअफ पुग्ने लक्ष्य रहेको झाको भनाइ थियो ।

यस्तै काठमाण्डु गोर्खाजको जितमा प्लेयर अफ दी म्याच भएका जेरार्ड इरासमसले आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको बताए ।

“आजको पिच ब्याटिङ गर्न राम्रो रहेको थियो । जसमा मैले राम्रो इनिङ खेले, धेरै खुसी लागेको छ”, उनले भने । एनपिएलको जारी सिजनमा यो नै आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई आफूले याद गरिराख्ने इरासमसको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...