कामबाट निकालिएको रिसमा हत्या, दुई जना पक्राउ

6

रौतहट, १४ मङ्सिर । बारा प्रहरीले पानी फ्याक्ट्रीका प्रबन्धकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री)का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

फ्याक्ट्री नजिकै रातिको समयमा धारिलो छुरा र इँटाले टाउको थिचेर हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ गरेको छ ।

घटनास्थल तथा अभियुक्तहरूको साथबाट रगत लागेकै फलामको छुरा १ थान र इँटा १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारततर्फ भाग्दै गरेको अवस्थामा राजनलाई र तुरहालाई वीरगञ्ज महानगरपालिका–२२ मा लुकिछिपि बसेको अवस्था पक्राउ गरिएको हो । प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसिइवी र कामबाट निकालिएको रिस रहेको खुलेको छ ।

दुवै जनाले फ्याक्ट्रीबाट निकालिएको रिस र विभिन्न समयमा भएको वादविवाद कारण हत्या गरेको प्रहरीसमक्ष बताएका छन् । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...