सुदूरपश्चिम उपाधि जित्ने गरी अगाडि बढिरहेको छ : अविनाश बोहरा

7

काठमाडौँ, १४ मङ्सिर । शानदार जितका साथ सुदूरपश्चिम रोयल्स काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ‘प्लेअफ’मा पुगेको छ । अपराजित रहेको सुदूरपश्चिम लगातार पाँचौँ जित निकालेर ‘प्लेअफ’ पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि छ विकेटको जित दर्ता गर्दै सुदूरपश्चिम दुई खेल बाँकी छँदै प्लेअफमा सुरक्षित भयो । सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण चार विकेट हात पारेका अविनाश बोहराले च्याम्पियन बन्नेमा ढुक्क रहेको बताउनुभयो ।

सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले टोलीको माहोल निकै राम्रो रहेको बताउँदै आफ्नो टोली उपाधि जित्ने गरी अगाडि बढिरहेको बताउनुभयो । बोहराले भन्नुभयो, “सुदूरपश्चिम उपाधि जित्न तयार छ । टोलीको माहोलदेखि लिएर सबै कुरा मिलेको छ ।”

उहाँले विदेशी खेलाडीभन्दा नेपाली खेलाडीको प्रदर्शन राम्रो हुनुपर्नेमा जोड दिँदै आफ्नो टोली विदेशी खेलाडीमा निर्भर नरहेको बताउनुभयो ।

यसैबीच लगातार चौथो हार ब्यहोरेको जनकपुरको प्लेअफमा पुग्ने सम्भावना न्यून छ । उक्त टोलीलाई बाँकी रहेका तीन खेल जित्नुपर्ने वा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने बाध्यता छ ।

जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मण्डलले ब्याटिङ नचल्दा हार ब्यहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेलाडीले ब्याटिङमा राम्रो गर्न सकेका छैनन् । आज पनि १०÷१५ रन बढी भएको भए नतिजा हाम्रो पक्षमा हुन्थ्यो ।”

यसका साथै उहाँले आफूहरू अझै प्रतियोगिताबाट ‘आउट’ नभएको बताउँदै बाँकी खेलमा जित निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...