पूर्वाधार र प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा

5

मुस्ताङ, १३ मङ्सिर । यहाँको थासाङ गाउँपालिका–४ स्थित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पर्यटक लोभ्याउने मनमोहक सिद्ध झरना पर्दछ । आवश्यक पूर्वाधार नहुनु तथा प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा पर्दै आएको छ ।

म्याग्दी र मुस्ताङको प्रवेशद्वारका रूपमा रहेको थासाङ–४ घाँसागाउँको बीच भागमा पर्ने राष्ट्रिय राजमार्गको पञ्चिमतर्फको घनाजङ्गलसहितको पहाडबाट उक्त झरनाबाट जल प्रवाह भएको अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट करिब दुई हजार मिटर उचाइमा अवस्थित सिद्ध झरना प्राकृतिक रूपमा उत्पत्ति भएको स्थानीय बताउँछन् ।

प्रत्येक वर्ष एक पटक स्थानीयले यहाँ सिद्ध बराहको पूजाआजा गर्नाका साथै पशु बलि दिने प्रचलन रहेको स्थानीय पुनित गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार यो मनमोहक झरनालाई स्थानीय भाषामा ‘छेछेरे’ भन्ने गरिएको छ ।

झरनाको फेदमा बर्सेनि जेठको पूर्णिमा तिथिमा गाउँलेले सिद्ध बराहको सामूहिक पूजाआजा गरी बोका र भाले चढाएर पशु बलि दिने प्रचलन रहेको स्थानीय गौचनले बताउनुभयो । यसरी झरनामा पूजा गरी बलि दिने कार्यक्रममा प्रत्येक घरधुरीबाट एक÷एक जना अनिवार्य उपस्थिति हुनुपर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।

आकर्षक र लोभलाग्दो तरिकाले प्रवाह भइरहने मनमोहक सिद्ध झरनासम्म पुग्ने मार्गसहित आवश्यक पूर्वाधार निर्माण नहुँदा र प्रचारप्रसारको अभावले ओझेलमा परेको स्थानीय गौचनले उल्लेख गर्नुभयो । बेनी-जोमसोम मार्गस्थित घाँसा बजारको मुख्य सडकबाट पैदलमार्फत पाँच मिनेटमा सहजै दृश्यावलोकन गर्न सकिने भए पनि मुस्ताङ भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकलाई झरनाका बारेमा जानकारी नहुँदा ओझेलमा उहाँको भनाइ छ ।

यस झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकीय गतिविधि बढ्नाका साथै स्थानीयको आयआर्जन र रोजगारीका अवसर पनि वृद्धि हुने गौचनले धारणा राख्नुभयो । यहाँ पर्यटकीय पूर्वाधार निर्माणका लागि आवश्यक पहल भइरहेको जनाउँदै उहाँले झरना आसपासका क्षेत्रमा सिद्ध बराहपार्कसहित भौतिक संरचना निर्माण गर्नुपर्ने भएकाले स्थानीय र प्रदेश सरकारसँग बजेट माग गरिएको बताउनुभयो ।

“यहाँको झरनालाई व्यवस्थित गर्नेगरी योजना तयार गरेका छौँ । सर्वप्रथम आवश्यक स्रोत सुनिश्चित गर्नुपर्ने भएकाले बजेट खोजिरहेका छौँ”, स्थानीय गौचनले भन्नुभयो, “झरना नजिक पार्क निर्माण गर्ने, झरनाको महत्वसहित आवश्यक प्रचारप्रसारका लागि सूचना प्रवाह गर्ने उद्देश्यले ठाउँठाउँमा सूचना पाटी राख्ने तयारी भइरहेको छ । यसो गरियो भने, यहाँ पर्यटकको आकर्षण बढ्नाका साथै रोजगारीका अवसर पनि सिर्जना हुनेछन् ।”

झरना करिब दुई हजार मिटर उचाइमाथिको घनाजङ्गलसहित पहाडबाट प्रवाह भइरहन्छ । चैत र वैशाखमा झरनाको सतह केही कम हुने भए पनि साउन र भदौमा पानीको सतह उच्च हुने थासाङ–४ का पूर्ववडाध्यक्ष विशाल शेरचनले बताउनुभयो । यो झरना हिमनदी पग्लिएर नभइ प्राकृतिक रूपमा उत्पत्ति भएको उहाँको भनाइ छ । उहाँका अनुसार झरनाको माथि चार वटाजति पानीका मुहान पनि छन् ।

चारैतिर पहाडले घेरिएको घाँस गाउँ मुस्ताङको पुछारको बस्ती हो । पाँच वर्षअघि हिमाली उपआयोजनाको अनुदान सहयोगमा झरनाको पानीबाट पोखरी निर्माण गरी माछापालन व्यवसाय सुरू गरिएको थियो ।

आवश्यक संरक्षण, पूर्वाधार र बजारीकरण नहुँदा हाल माछापालन पनि गर्न छाडिएको पूर्ववडाध्यक्ष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार तल्लो घाँसाका स्थानीयले झरनाको पानीलाई खानेपानीका रूपमा प्रयोग गर्दै आएका छन् ।

घाँसा गाउँ नजिकै अवस्थित मनमोहक सुन्दर सिद्ध झरना आसपासका क्षेत्रमा वन्यजन्तु र विभिन्न पशुपन्छी अवलोकन गर्न सकिन्छ । बर्सेनि सात लाखभन्दा बढी पर्यटक मुस्ताङ भित्रिने भए पनि यो गाउँमा पर्यटकीय पूर्वाधारको अभाव हुँदा ओझेलमा पर्दै आइरहेको हो ।

केही वर्षअघि स्थानीय तहको सहयोग र समन्वयमा यहाँ कालिज फार्म सञ्चालन गर्ने तयारी गरिएको पनि पूर्णता पाउन नसकेको स्थानीय बताउँछन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...