- गोविन्द्र राज तिमिल्सेना
बाजुरा, १३ मङ्सिर । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठुलो हुँदैन । सानो पेशाबाटै ठुलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् । व्यक्तिको सफलता, उसको इच्छाशक्ति र कर्ममा भर पर्छ । कर्म र इच्छाशक्तिले व्यक्तिको जीवन बदल्छ । जसबाट नयाँ उर्जा, उत्साह प्राप्त हुन्छ । हरेक सीप, अनुभव र योग्यता बटुल्ने काम व्यक्तिको इच्छाशक्तिले गर्छ । इच्छाशक्तिले व्यक्तिको जीवनमा नौलो परिवर्तन ल्याउन मदत गर्छ ।
बाजुरा जस्तो विकट, सेवा सुविधाबाट प्रताडित र अनगिन्ती समस्या र कठिनाइका बीच हातमा क्यामरा समातेर कुशल कर्मशिलताको ज्वलन्त उदाहरण बनेका छन्, बाजुराका जीवन सार्की । सार्की समुदायका युवा जसले हातमा क्यामेरा समातेर फोटो खिच्दै आफ्नो मात्रै होइन सिंगो समुदायको पहिचान स्थापित गराउनुभएको छ ।
नाम जस्तै जीवनमा परिवर्तन ल्याउन उहाँले इच्छाशक्तिका साथ मेहनत र संघर्ष गर्नुभएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–६ बैशारुख घर भएका उहाँको हाल सदरमुकाम मार्तडीमा बसोबास छ ।
सामान्य परिवारमा जन्मेका जीवनको संर्घष र प्रेरणाको कथा छुट्टै छ । सपनाभित्र झिलिमिलि बनेको इच्छा चाहना उहाँले नकार्न सक्नुभएन । उहाँको इच्छाचाहना र कर्मले अहिले उहाँको दैनिकी क्यामरासँग जोडिएको छ । २६ वर्ष टेकेका उहाँ बाजुरा क्याम्पसमा अध्ययनरत हुनुहुन्छ । स्नातक पूरा गरी मास्टर भर्नाको तयारीमा हुनुहुन्छ । तर, अध्ययनभन्दा पनि उहाँको दैनिकी क्यामेरासँग जोडिएको छ । तर, पढाइ भने छाड्नुभएको छैन । पढाई सँगसँगै आत्मनिर्भर हुन उहाँले २०७५ मा मार्तडीमा ‘ए वान’ फोटो स्टुडियो सञ्चालनमा ल्याउनुभयो । जुन स्टुडियोबाट फोटा खिच्ने, फोटोकपी गर्नेलगायत अनलाइनसम्बन्धी काममा दैनिकी चल्यो ।
आमाबुबा, भाइहरु र साथमा जीवन संगीनी एवम् छोराको लालनपालन सम्पूर्ण घरपरिवार धान्ने उहाँको काँधमा थियो । सानो स्टुडियोबाट सबै घरपरिवार धान्न उहाँलाई निकै अप्ठ्यारो पर्यो । उहाँले केही नयाँ विकल्पका साथ अघि बढ्न सोच बनाउनुभयो । अहिलेको प्रविधिको युगमा मानिसहरु नयाँ ठाउँ घुम्ने, फोटो खिच्ने, टिकटक, रिल बनाउने प्रवृतिको हावी छ ।
यही अवस्थालाई मध्यनजर गरेर जीवनले मार्तडीमा फोटो सुट गर्ने कुनै ठाउँ बनाउने योजना बनाउनुभयो । दृढ इच्छाशक्तिका साथ उहाँले विभिन्न ठाउँमा गएर फोटो सुट गर्न थाल्नुभयो । फोटा खिचेर आम्दानी गर्न सकिन्छ भन्ने जानकारी पश्चात् उहाँले यो विधि अपनाउनुभयो । तर, यसबाट पनि उहाँ खासै सन्तुष्ट हुनुभएन । अनेकथरी बाधा, अड्चन आउँन थाले ।
तर, हार नमानेर उहाँ दृढ संकल्पका साथ अघि बढ्नुभयो । उहाँले व्यवसायिक रुपमा फोटा खिचेर केही आम्दानी गर्नुपर्छ भनेर आफ्नै लगानीमा बडीमालिका नगरपालिका नजिकै जग्गा भाडामा लिनुभयो । जहाँ उहाँले फोटो सुट गर्ने ठाउँ बनाउनुभयो ।
अहिले उक्त ठाउँमा दिनहुँ एक सय बढीको फोटो खिच्न युवायुवतीहरु आउने गरेका छन् । फोटो खिचेर संकलन गरेकै रकमबाट मासिक पाँच हजार जग्गा भाडालगायत दैनिक खानपिन र घर खर्च चल्ने गरेको जीवन बताउनुहुन्छ ।
सुरुमा सबैले अवहेलना गरेकोमा अहिले सबैले प्रेरणा गर्न थालेको सार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “फोटो खिचेको पच्चिस र भिडिओ साठ्ठी रुपैयाँसम्म लिने गरेको छु । जसबाट दैनिक पन्ध्र सयदेखि न्यूनतम दुई हजार हुने गर्छ । सिजनको समयमा दिनको पाँच हजारसम्म कमाइ हुने गरेको छ ।”
मेला महोत्सव तथा कुनै पर्वमा राम्रो कमाइ हुने गरेको सार्कीको भनाइ छ । उहाँले मासिक न्यूनतम ५० लेखि ६० हजार कमाइ हुने गरेको दाबी गर्नुभयो । जसबाट उहाँले भाइलाई काठमाडौँमा पढाइरहनुभएको छ । श्रीमती र छोरालाई समेत पढाउँदै आफू पनि पढिरहनुभएको छ । क्यामरा नै अहिले जीवनको साहारा बनेको उहाँको भनाइ छ ।
गर्न खोज्यो भने हरेक चिज नेपालमै सम्भव रहेको बताउँदै जीवनले सर्वप्रथम आफ्नो इच्छाशक्ति र कर्ममा जोड दिन आवश्यक रहेको बताउनुभयो । सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनुभन्दा पनि आफ्नै माटोमा केही गर्ने अठोटका साथ लाग्न उहाँ प्रेरित गर्नुहुन्छ । आफू आफ्नो ठाउँमै बसेर केही गर्छु भन्ने उदेश्यले यस्तो पेशा अगाँलेको उहाँले बताउनुभयो ।
जीवनले मार्तडीमा सञ्चालन गरेको ‘नमस्ते ढोगदियामा’ फोटो खिच्नेको लर्को लाग्ने गरेको छ । उनी कहिले विरेखोला, कहिले वरपरका डाँडाकाडा तथा बजारमै बसेर फोटो सुट गर्ने गरेका छन् । ‘नमस्ते ढोगदियामा’ स–साना बालबालिकादेखि बुढापाखाहरु पनि खिच्न आउने गरेको उहाँको भनाइ छ । १० वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरु स्टुडियोमा छिरेर फोटा खिचाउने गरेको जीवनको भनाइ छ ।
उहाँको त्यो सानो पेशा अहिले चुलिएको छ । उहाँको व्यवसायले कर्मशिलताको पाठ सिकाएको छ । स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने कुरा उनको व्यवसायले दर्साउछ । खाली बसिरहेका युवाहरुले उनबाट पाठ सिक्नुपर्ने देखिन्छ । रोजगारीका अवसर छैनन् भन्नेहरुले यस्तै अन्य कुनै पेशा, व्यवसाय सञ्चालन गर्न जरूरी रहेको जीवन बताउनुहुन्छ ।
अरुको कुरा काटेर दिनभर बरालिएर हिँड्नेहरुलाई आफ्नै ठाउँमा केही व्यवसाय गरेर कर्मशील बन्न उहाँ सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशमा रोजगारीका अवसर छैनन् भन्न मिल्दैन । तर, कर्म गर्न आवश्यक छ । मान्छे सानो पेशा गर्न लजाउँछन् । तर, सानो पेशाबाट पनि सबै सामु प्रेरणात्मक र उदाहरणीय बन्न सकिँदोरहेछ ।” –नेपाल न्यूज बैंक