‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’

10
  • मधु शाही

काठमाडौँ, २५ कात्तिक । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किनुभयो । सन्तोष गहना पसलमा काम गर्नुहुन्थ्यो । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो ।

गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिनुहुन्थ्यो । अम्बिकाले त्यो दिन सम्झिँदै भन्नुभयो, “खै किन हतार थियो ? फोन आइरहेको थियो साथीहरुको । खाएर निस्किहाल्नुभयो ।” कामका लागि होला भन्दै अम्बिकाले छिटो खाना खुवाएर सन्तोषलाई बिदा गर्नुभयो । “छोराछोरीले बाउ खोज्छन्, साँझ बेलैमा आउनु है,” सन्तोषले अम्बिकातिर हेर्दै जवाफमा “ल ! ल ।” दुई शब्द मात्रै पर्काउनुभयो । भदौ २३ गते बिहान १० बजे बिदा हुनुभएका सन्तोष रात बित्यो, फर्किनुभएन ।

दिनभर बानेश्वर संसद् भवन अगाडि आगजनी र गोली चल्यो भन्ने समाचार, भिडियोहरु अम्बिकाले सामाजिक सञ्जालमा हेरिरहनुभयो । त्यही संसद् भवन नजिकै आन्दोलनमा सहभागी हुनुभएका सन्तोषलाई अम्बिकाले गोली लागेको खबर राति १२ बजे मात्रै थाहा पाउनुभयो ।

काम गर्न भनेर निस्किनु भएका श्रीमान् बेलुका आएरसँगै खाना खाउँला भन्ने प्रतीक्षामा रहनुभएकी अम्बिकालाई श्रीमान्‌लाई गोली लागेर अस्पताल भर्ना भएको खबर मध्यरातमा पाउँदा पृथ्वी भासिएझैँ भयो । खुट्टाहरु काँपिरहे । मुटु चिसो भयो । उदयपुरको बेलका नगरपालिका–४ देखि काठमाडौँ आएर सपरिवार बस्न थालेको एक वर्षमात्रै भएको थियो । काठमाडौँको रहनसहनमा त्यति अभ्यस्त हुन बाँकी अम्बिका विचल्लीमा पर्नुभयो । राति हिँड्ने स्थिति थिएन । भोलिपल्ट उहाँ सन्तोषका साथीहरुको सहयोगमा काठमाडौँमा भए जतिका अस्पतालमा घाइते श्रीमान् खोज्न हिँड्नुभयो । अन्तिममा वीर अस्पतालमा मृत शरीर रहेको थाहा भयो । गेटबाट भित्र प्रवेश गर्ने अवस्था थिएन । प्रहरीको कडा सुरक्षाले गर्दा आफ्नो मान्छेसमेत हेर्न जान पाउनुभएन । अम्बिकालाई त्यो दिन सम्झँदा अहिले पनि रिङ्गटा लाग्छ ।

बोल्दाबोल्दै वाक्य बन्द हुन्छ । आँखाबाट आँशु टिल्पिलाउन थालिहाल्छ । अनि मन पोल्छ । अँध्यारो कोठामा चिच्याउँदै रुन मन लाग्छ । “कति रुनु ? मैँ रोए छोराछोरीको मुहारमा हासो कसरी आउला ?” अम्बिका यसैगरी फेरि कमजोर भएको मनलाई बलियो बनाएर छोराछोरीका लागि सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको सङ्घर्ष अब राज्यसँग छ । आन्दोलनमा ज्यान गुमाएर सहिद भएका श्रीमान्‌को सपना पूरा गर्ने जिम्मेवारी अम्बिकाको काँधमा छ । दुई छोराछोरीको शिक्षादीक्षासँगै उदयपुर, बेलका–४ मा रहेका बुबाआमाको हेरचारसमेत गर्नुछ ।

सन्तोष कान्छा छोरा हुनुहुन्थ्यो । उमेरले ७० कटेका बृद्ध बुबाआमाको हेरचाह उहाँले नै गर्नुहुन्थ्यो । मजदुरी गरेरै जीवन चलाउनु भएका सन्तोषको परिवारको अहिलेसम्म सरकारी भूमिमा स्वामित्व छैन । “ऐलानी जग्गामा घर छ, कमाउने मान्छे ढल्यो । सधैँ सुकुम्वासी बन्ने भइयो”, अम्बिका वेदना पोख्दै भन्नुहुन्छ, “केही काम पाए, गर्थें । केटाकेटीको पेट पाल्न त सक्थेँ ।”

अम्बिकाका अनुसार सरकारले सहिदका नाममा १५ लाख रूपैयाँ राहत रकम दिएको छ । यीबाहेक जेनजी आन्दोलनमा सहिद भएका परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने, श्रीमान् वा श्रीमतीलाई रोजगार दिने आमा वा बुबामध्ये एक जनालाई पेन्सन दिनुपर्ने माग थियो । अहिले अम्बिका राज्यसँग पूरा हुन नसकेका माग प्राप्तिका लागि सङ्घर्षरत हुनुहन्छ । श्रीमान् बितेको दिनदेखि अम्बिकाको आम्दानीको स्रोत बन्द भएको छ । सरकारी विद्यालयमा दुई छोराछोरी पढ्छन् । उनीहरुको भविष्यका लागि पनि अम्बिकालाई रोजगारी आवश्यक छ । उहाँ भन्नुहुन्छ, “मैले जीवन साथी गुमाएँ, छोराछोरीले बाउको सहारा गुमाए । बाँच्ने आधार के हो ? राज्यले निकास दिनुपर्छ ।”

जेनजी सहिद परिवारका समूहमा उहाँले यिनै कुरा उठान गर्दै आउनुभएको छ । कलाकारितामा रुचि भएकी छोरीलाई कलाकार बनाउने सन्तोषको सपना अधुरै रहेको अम्बिकाले बताउनुभयो । जेनजी आन्दोलमा बुबा गुमाएको कुरा गरिरहँदा छोराछोरीको मनोविज्ञानमा असर परेको पनि उहाँको भनाइ छ । “छोरीले बाबा सम्झिन्छिन्, छोरो टोलाइरहन्छ”, अम्बिका भन्नुहुन्छ, “के काम गरेर पेट पाल्ने ? रोजगार छैन ।” –रासस

Share This:
सम्बन्धित खबर
Loading...