नेपाल अमेरिकासँग पराजित

20

काठमाडौँ, १२ कात्तिक । आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले । उनको नेपालविरुद्ध दोस्रो शतक हो ।

यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए । कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए । ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे ।

अमेरिकाका नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १–१ विकेट हात पारे ।

नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...