‘आफ्नै स्वार्थ’का निर्देशक दास भन्छन्- नेपालमा वेभ सिरिजको भविष्य राम्रो छ [भिडिओ]

3

काठमाडौँ, ११ कात्तिक । यति बेला बुबाआमा र सन्तानबीचको कथामा बनेको म्युजिकल फिल्म ‘आफ्नै स्वार्थ’को चर्चा भइरहेको छ । रोशन दासको कथा तथा निर्देशनमा बनेको म्युजिकल फिल्ममा सन्तानको भविष्यका लागि बुबाआमाले गरेको संघर्ष र दुःख, बुढेसकालमा सन्तानको सहाराको आशा र सन्तान हुँदाहुँदै पनि बेसहारा बन्नुपरेको कथा समावेश गरिएको छ ।

शब्द रोशन दासका हुन् भने संगीत र संगीत संयोजनको काम राजन कार्कीले गर्नुभएको छ । गीतमा ध्रुव विश्वकर्माको स्वर रहेको छ ।

म्युजिकल फिल्ममा आमाबुबा र छोराको कथालाई समावेश गरेका कारण म्युजिकल फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको निर्देशक दासले बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले हामीले ‘आफ्नै स्वार्थ’ नामक म्युजिकल फिल्म बनाएका छौँ । कथा र निर्देशन मेरो आफ्नै हो । खासगरी यस म्युजिकल फिल्ममा आमाबुबा र छोराको कथालाई समावेश गरेका छौँ । सबैको घरको र समाजको यथार्थतामा निर्माण गरिएको भएकाले पनि फिल्मले राम्रो प्रतिक्रियाहरु पाएका छौँ । ऋण खोजेर हुर्काएर विदेश पठाएपछि छोराछोरीहरुले बाआमालाई मतलब नै नदिने अहिलेको यही विषयमा कथा लेखेको छु ।’

२२ वर्षीय दासले अहिलेसम्म ‘आफ्नै स्वार्थ’ लगायत ५० भन्दा बढी म्युजिक भिडिओ तथा एउटा वेभ सिरिजको समेत निर्देशन गरिसक्नुभएको छ ।

सानोमा ‘तितोसत्य’लगायतका हास्य टेलिश्रृंखला लगायतबाट प्रभावित भएर कला क्षेत्रमा लागेको दासको अनुभव छ । तर, सिरिजहरुलाई पर्दामा हेर्नु र आफैँ निर्माण गर्नुमा भने निकै फरक रहेको उहाँ बताउनुहुन्छ ।

‘म यो क्षेत्रमा आएको चाहिँ ‘तितो सत्य’ लगायतका सिरिजहरुबाट प्रभावित भएर हो । तर, यहाँसम्म आइपुग्दा पर्दामा हेर्नु र आफैँले सिरिज निर्माण गर्नु निकै भिन्न कुरा रहेछ । म्युजिकल कथाहरु निर्माण गर्न निकै गाह्रो हुने रहेछ । पहिले पहिले आफैँलाई टिभीमा देखिन पाए हुन्थ्यो जस्तो रहर लाग्थ्यो । एक दुईवटा म्युजिक भिडिओ गरेको पनि थिए तर अब निर्देशक नै बन्नुछ लागेको हुँ,’ न्युज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो ।

नेपालमा म्युजिक भिडिओको बजार सानो भएका कारण कलाकारहरुलाई लगानी उठाउन गाह्रो हुने भए पनि कन्टेन्टको आधारमा चल्ने गरेको दासको बुझाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘नेपालको सन्दर्भमा म्युजिक भिडिओको सानो बजार छ । वेभ सिरिजको बजार म्युजिक भिडिओको भन्दा केही ठुलो पनि छ । कुनै व्यवसाय जस्तै म्युजिक भिडिओ क्षेत्र पनि गाह्रो त छ । तर, चल्ने नचल्ने भनेको कन्टेन्ट भर पर्दछ । यही क्षेत्रमा कोही सफल हुने र कोही असफल हुने भन्ने पनि हुन्छ । हामी कस्तो विषयमा काम गर्छौँ भन्ने कुरा हो । कन्टेन्ट चलेसी लगानी उठ्दैन भन्ने हुँदैन ।’

‘नेपालीहरुको एउटा गलत कुरा के छ भने हाम्रो कन्टेन्टलाई विदेशका कन्टेन्टसँग तुलना गरिरहेका हुन्छौँ । तर, हाम्रो बजार र प्रविधि विदेशको जस्तो छ त ? मुख्य प्रश्न यही हो । यस्तोबेला गुणस्तरीय कन्टेन्ट निर्माण र आधुनिक प्रविधिसँगै साक्षात्कार गरेर अगाडि बढन् सक्नुपर्छ,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...