श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

13

काठमाडौँ, २२ असोज । अर्थमन्त्री विष्णु पौडेलले श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६औँ क्षेत्रीय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामूहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उहाँले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको बताउनुभयो । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति सरकारले लिएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिको रुपमा आत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीक बनाउने र स्वदेशमा नै रोजगारी सृजना अभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उहाँले समय सापेक्षित श्रमिकको न्यूनतम पारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीति कार्यान्वयन गर्दै आएको जानकारी गराउनुभयो ।

बैठकमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरोलगायतबाट केही वर्षबाट नेपालमा भएको मानवीय तथा भौतिक क्षतिबाट गरिखाने श्रमिक वर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालका तर्फबाट कुरा उठाउने बताउनुभयो । उहाँले दुई दिने एसिया प्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...