स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा

15

काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग सीमित स्रोत साधन छ, हामीले साधनस्रोत बढाएर तत्काल हाम्रा आवश्यकता अनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था छैन, त्यसैले अहिले हामीसँग भएका उपकरणहरुलाई बढीभन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ ? प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन सकियो भने धेरै ठुलो खर्च हुँदैन, त्यसैले राज्यको सीमित खर्चभित्र उपकरण व्यवस्थापन गर्न हामीले यो काम सुरू गरेका हौँ ।’

साथै, उहाँले यो कामबाट अस्पतालहरुमा उपकरण उपलब्ध हुने बताउनुभयो । उहाँले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...